जथाभावी खनिएका सडकः मंसीरमा बनायो, असारमा बग्छ
2020/08/03, 8:31
 
pahiro

शेरवहादुर ऐर- सिमसिम पानी परिरहेको छ । कमलो माटोमा पानी भरिएर बाटो हिलाम्मे छ, हिँड्न खोज्दा खुट्टा नै चिप्लिने । तीन वर्षअघि चुरे गाउपालिका ५ देखि वडा नम्बर १ जोड्ने कट्रेनी सडक खनिएको थियो । सो सडकबाट अघि बढ्दा ठाउँ–ठाउँमा डाँडा छन । वर्षा भइरहेको छ, डाँडामा माटो बगिरहेको छ । 

खहरे खोला बग्ने ठाउँमा पानी निकासका लागि बनाइएको ‘ह्युमपाइप’ को माटो बगिसकेको छ । भासिएको माटोले ‘ह्यूमपाइप’ पनि टिक्न सक्ने अवस्था छैन । काटिएको सडकमा भर्खरै फुटेका मुलहरूका पानी बगिरहेका छन् । सडकको अवस्था देखाउँदै चुरे गाउँपालिकाका ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरबहादुर तामाङले भने, ‘मंसिरमा सडक बनायो,असारमा बग्छ ।’ उनले हरेक वर्ष पहिरोका कारण सडकमा लागत बढ्दै गएको बताए । 

सडकका मोडहरूमा कतै ठूला रुख ढलेका छन् भने कतै ढल्ने अवस्थामा पुगेका छन् । रुख र डाँडाबाट बगिरहेको माटोले पैदलयात्रासमेत सहज छैन । ‘गाडी गुडाउनका लागि बनाइएको यो सडकमा मानिस पनि हिडन नसक्ने अवस्था आउँछ हरेक वर्षामा,’ स्थानीय करन रोक्कामगरले भने । सो सडकका कारण बस्ती पनि जोखिममा परेका छन् । शुक्रबार राति कट्रेनीमा आएको पहिरोका कारण २८ घर परिवारका एक सय ५१ जना विस्थापित हुने अवस्थामा छन् । वडाध्यक्ष तामाङले भने, ‘यो वस्ती सडकका कारण नभई अन्य कारणले पहिरोको जोखिममा रहेको छ ।’

कट्रेनी सडक वडा नम्बर १ सम्म पुगेको छैन । सो सडकले अहिलेसम्म एउटा वस्तीलाई मात्र छोएको छ । ‘सडक बने हामीलाई खानीडाँडाको बजारसम्म पुग्न सजिलो हुन्छ,’  स्थानीय डम्मर रोक्कामगरले भने, ‘औषधीउपचार गर्न तथा यहाँका बालबालिकाको अध्ययनका लागि खानीडाँडा बजारमै जानुपर्ने बाध्यता छ ।’ सो बस्ती खानीडाँडा बजारबाट झण्डै एक घन्टाको पैदल यात्रामा पुगिन्छ । रोक्कामगरले भने, ‘हिउँद तथा गर्मीमा बजार पुग्न आधा घण्टा लाग्छ । तर, वर्षातमा पहिरो र चिप्लो बाटोका कारण एक घण्टा लाग्छ ।’

खानीडाँडाको मुख्य बजारदेखि गुणीगाउँ जोड्ने सडकमा पनि ठाउँ–ठाउँमा पहिरोले अवरुद्ध बनाएको छ । बिहीबार पहिरोले घर पुरेपछि विस्थापित भएका त्यस वस्तीका मानिस राहत लिन बजारमै रहेको अस्थायी प्रहरी विटमा आउँदै थिए । स्थानीय बिर्ख धामीले भने, ‘पहिरोले गर्दा यहाँसम्म पुग्न पनि असहज छ ।’ कठिन पैदल यात्रापछि प्रहरी बिट पुगेका उनले थकित मुद्रामा भने, ‘सडक भए पनि दुःख, नभए पनि दुःख ।’

2

चुरे गाउँपालिकामा निर्माणाधीन यी सडकमात्र होईनन्, अहिले खोलिएका सडकहरू पहिरोले गर्दा अवरुद्ध भएका छन् । वातावरण विषयमा लेख्ने पत्रकार मिन ठकुरीले भने, ‘चुरेमा जता मन लाग्यो त्यतै सडक खन्नु हुँदैन ।’ हरेक वर्ष वर्षायाममा कैलालीको तराईमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा बाढीको समस्या बढ्ने गरेको छ । दुर्गम मानिएको कैलालीका पहाडी दुई गाउँपालिका (चुरे र मोहन्याल) का अधिकांश बस्ती पहिरोको जोखिममा छन् । पत्रकार ठकुरीले भने, ‘चुरेका खहरे खोलाहरूले नै तराईमा बाढी तथा डुबानको समस्या बढ्ने गरेको छ ।’ 

चुरे गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन् । गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरले भने, ‘हामीले सबै वडालाई सडक सञ्जालसँग जोडे पनि वर्षातमा भने पहिरोका कारण बाटो अवरुद्ध हुने गरेको छ ।’ गाउँपालिकाले सबै वडामा सडक सञ्जाल पु¥याएपछि सबै टोल बस्तीसम्म पनि सडक पु¥याउने योजना बनाएको छ । गाउँपालिकाका अध्यक्ष रोक्कामगरले अहिले खैराला जाने र ढुङ्गेनी सडकमा स्काभेटर लगाएर बाटो खोल्ने काम भइरहेको बताए ।