बाढीका कारण घर डुवानमा परेपछि गत बुधबार विस्थापित भएका परिवार अझै घर फर्कन सकेका छैनन् । बाढी केही कम भए पनि घरहरु अझै डुवानमा रहेकाले विस्थापित परिवार घर फर्कन नसकेका हुन् । भजनीमा विस्थापित भएका एक हजार ६७१ परिवार घर फर्कन नसकेका भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटाले जानकारी दिइन् । डुवानमा परेका अधिकांश ठाउँमा आइतबारसम्म पनि बाढी उस्तै छ । बाढी घटेको ठाउँमा पनि घरभित्र बस्नसक्ने अवस्था नरहेकाले विस्थापितहरु फर्कन नसकेका उपप्रमुख देवकोटाले बताइन् ।
आइतबारमात्रै वडा नम्बर पाँचलगायत केही ठाउँमा बाढी पसेको उनले बताइन् । चुरेमा वर्षा हुँदा नदीमा पानीको सतह बढेपछि आइतबार पनि नगरका केही ठाउँमा डुवान भएको भजनी नगरपालिकाले जनाएको छ । भजनीमा विस्थापितमध्ये आधा परिवार हुलाकी राजमार्गमा बसिरहेका छन् । सबैभन्दा बढी प्रभावित भएको वडा नम्बर ८ मा आइतबार बाढीको सतह केही घटेको छ तर अहिलेनै घर जाने गरी बाढी नघटेको उपप्रमुख देवकोटाले बताइन् । बाढी घटेका ठाउँमा विस्थापित परिवारले डुवानमा परेको घर सरसफाइ गरेका छन् । ‘बाढी पसेकाले घरहरु भिजेका छन् । एक÷दुई दिन घाम लागेर सुकेपछि मात्र बस्न सकिने हुन्छ ।’ उनले भनिन्, ‘त्यसैले विस्थापित फर्कन समय लाग्नसक्छ ।’ विस्थापितमध्ये आधाजति हुलाकी सडकमै बसिरहेका उनले बताइन् ।
विस्थापितहरु हुलाकी सडकबाट अन्यत्र बस्नसक्ने अवस्था छैन । केही ठाउँमा विस्थापितहरु विद्यालयहरुका माथिल्लो तलामा बसेका छन् । नगरपालिकाले विस्थापित परिवारलाई त्रिपालसँगै पानी, चाउचाउ, चिउरा, बिस्कुट वितरण गरिरहेको छ । बाढीबाट विस्थापित सुत्केरी, गर्भवती, बालबालिका र वृद्धवृद्धाहरु बढी समस्यामा परेका छन् । सुत्केरी र बालबालिका चाउचाउ र चिउराका घरमा छाक टार्न बाध्य छन् । भजनी नगरपालिका–८, काँढाढिककी अञ्जली बिकले चार दिनदेखि भात–रोटी खान नपाएको बताइन । आठ महिने छोरा काखी च्यापेर सासु–ससुरासहित हुलाकी राजमार्गमै आश्रय लिएर बसिरहेकी उनले छोरालाई चाउचाउ र चिउरा खुवाइरहेको दुखेसो पोखिन् ।
अन्नपात, खाना पकाउने भाडाकुडा सबै सामान घरमै छुटेकोले सडकमा खाना बनाउन सक्ने अवस्था नरहेको उनले बताइन् । चार महिने सुत्केरी नन्दमती आउजीले पनि चाउचाउ र चिउरा खाएर छाक टार्नुपर्ने बाध्यता रहेको बताइन् । काँढाडिकमै घर भएको उनको परिवार पनि घर फर्कन सकेको छैन ।
बाढी आउँदा हतार–हतारमा निस्कनु परेकाले घरभित्रको सामान ल्याउन नपाएको नन्दमतीकी सासु नन्दाले बताइन् । बालबालिका र सुत्केरी बुहारीलाई भात–रोटी खुवाउन नसकेको दुखेसो उनले सुनाइन् । ‘सुत्केरी बुहारी र नातीनातिनालाई के खुवाउने भन्ने समस्या छ ।’ उनले भनिन्, ‘हामी त बरु चाउचाउ खाएरै बस्थ्यौँ, यिनिहरुका लागि खाना पाएको भए हुन्थ्यो ।’
बाढीका कारण जिल्लाभर साढे दुई हजारभन्दा बढी परिवार विस्थापित भएका थिए । जोशीपुर, टीकापुरलगायत क्षेत्रका कतिपय विस्थापित बाढी घटेपछि घर फर्केका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोशीपुर नजिक पथरैया नदी फुटेर गाउँ पसेपछि जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका दर्जनौँ बस्ती डुवानमा परेका छन् । भजनी–८, का नवराज ढुङ्गानाको घर डुवानमा छ, बाढीले खेतबारी कटान सँगैे भेलले बगर बनाएको छ । यो पीडा ढुङ्गानाको एक्लो होइन, भजनी, जोशीपुरलगायत दर्जनौँ बस्तीका हजारौँ बासिन्दाले वर्षायाममा यस्तै पीडा र समस्या भोग्ने गरेका छन् । मनसुन सक्रिय भएसँगै त्रासमा बस्नुपर्छ । ‘हरेक वर्ष यस्तै समस्या भोग्नु पर्छ, ठावै छोडेर अन्यत्र बस्न जानसक्ने अवस्था पनि छैन ।’ ढुङ्गानाले भने ।
भजनी, जोशीपुर क्षेत्रमा बाढी आएको यो पहिलो वर्ष भने होइन, वर्षायाममा वर्षेनी त्यहाँका अधिकांश क्षेत्रका बासिन्दाको डुवानका कारण उठीबास हुन्छ । पथरैया, काँढा, कान्द्रा र मोहना नदीमा आउने बाढी गाउँ पस्दा हरेक वर्ष सयौँ परिवार विस्थापित हुने गरेका छन् । चुरेको फेदीबाट बग्ने यी नदीले तटीय क्षेत्रमा डुवान र कटान गर्छन् ।
नेपालको सिमा नजिक भारतले कर्णाली नदीमा बनाएको कैलाशपुरी बाँधका कारण कैलालीको दक्षिणी क्षेत्र डुवानमा पर्ने गरेको छ । पथरैया, काँढा, कान्द्रा र मोहना नदी कर्णालीमा मिल्छन् । कैलाशपुरी बाँधले कर्णालीको वहाव कम गर्ने भएकाले कैलालीबाट बग्ने अन्य नदीको बहाव कर्णालीले रोक्ने गर्छ । भारतीय बाँधका कारण नदीमा पानीको वहाव कम हुने भएकाले कैलालीको दक्षिणी क्षेत्र डुवानमा पर्ने गरेको भजनी क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले बताए ।
‘बाँधले कर्णालीको बहाव रोक्छ, कर्णालीमा वहाव रोकिएपछि मोहना, पथरैया, कान्द्रालगायत नदीको वहाव कम हुन्छ र पानी थुनिएर डुवान हुन थाल्छ ।’ चौधरीले भने, ‘बाढी आएका बेला बाँधको ढोका खोल्नका लागि सरकारले भारतसँग कुटनीतिक पहल गर्न जरुरी छ ।’
दक्षिणी क्षेत्रमा जमिनको सतहनै होचो हुनु तथा बस्तीभन्दा निकै बढी उचाइमा बनेको हुलाकी राजमार्ग पनि डुवानको कारण भएको उनले बताए । थोरै ठाउँमा मात्रै पानी निकासका लागि कल्भर्ट राखिएकाले उत्तरतिरबाट आएको पानीलाई हुलाकी राजमार्गले छेक्ने गर्छ । राजमार्गमा कल्भर्ट थपे डुवान केही कम हुने स्थानीयको भनाइ छ । कम्तीमा तीन ठाउँमा कल्भर्ट निर्माणका लागि पहल भइरहेको सांसद चौधरीले बताए ।