द्वन्द्व, नाकाबन्दी र हडतालले असर नगरेकोे ‘टापु’ नगरपालिका कोरोनाले थलियो
2020/09/06, 7:38
 
corona

पूर्वतिर महाकाली नदी । पश्चिममा अर्को नदी जोगबुडा । बीचमा टापु जस्तै दोधारा–चाँदनी क्षेत्र । हाल महाकाली नगरपालिका नामकरण गरिएको महाकाली पारिको एकान्त क्षेत्रको छुट्टै पहिचान छ ।

सशस्त्र द्वन्द्वका बेला होस् वा भारतको नाकाबन्दीका बेला यहाँको जनजीवन कहिल्यै प्रभावित भएन । जिल्लामा हुने विभिन्न किसिमका बन्द र हडतालबाट समेत यो क्षेत्र टाढा रह्यो । भारतीय नाकाबन्दीका बेला त झन् यहाँबाट पेट्रोलियम पदार्थदेखि विभिन्न सामग्री नेपाल भित्रिन्थ्यो ।

१० वर्षे सशस्त्र द्वन्द्व र विभिन्न आन्दोलनका बेला समेत दोधारा–चाँदनीको चहलपहल घटेको थिएन । अहिले भने यो क्षेत्र सुनसान छ । यहाँका मुख्य बजारहरू चाँदनी, हेल्थपोस्ट, बाबाथान र आम्भोज पूर्ण रूपमा बन्द छन् । बजार मात्रै होइन ग्रामीण भेगमा समेत आवागमन पूर्ण रूपमा बन्द छ । कोरोना संक्रमणको जोखिम बढेपछि पछिल्लो समय नगरपालिकालै नै एक साताका लागि लकडाउन घोषणा गरेपछि यो क्षेत्र झनै सुनसान बनेको हो ।

‘लकडाउनले सबै ठप्प भएको छ,’ महाकाली नगरपालिका–९ का कान्छा मगरले भने, ‘गाउँमा मालसामान पाइन पनि छाडेको छ ।’ उनका अनुसार लकडाउनअघिसम्म दोधारा–चाँदनीमा खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री सबै सीमावर्ती बजार खटिमाबाट आयात हुन्थ्यो । लकडाउन सुरु भएपछि भारतबाट आउने सामान बन्द नै भएको छ ।

महेन्द्रनगरबाट पनि आवश्यकताअनुसार दैनिक उपभोग्य वस्तु आउन नसकेका कारण अभाव हुन थालेको कान्छा बताउँछन् । ‘माओवादी द्वन्द्वमा समेत यो क्षेत्र यति प्रभावित भएको थिएन,’ कान्छा भन्छन्, ‘नाकाबन्दीका बेला हामीले नै भारतबाट डिजेल, पेट्रोल ल्याएर महेन्द्रनगरसम्म पु¥यायौं ।’

महाकाली नगरपालिका अहिले पनि सडक सञ्जालसँग जोडिएको छैन । चारपाङ्ग्रे सवारीसाधनका लागि भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । ५० को दशकमा निर्माण भएको झोलुङ्गे पुलले यस क्षेत्रलाई सदरमुकामसँग जोडेको छ । लकडाउनसँगै नाका बन्द भएपछि यहाँ नेपालमा उत्पादित सामानहरू देखिन थालेका छन् ।

4

‘लकडाउनले यो क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ, भारतबाट सामान ल्याउन पाइँदैन, नेपालबाट भित्र्याउने बाटो छैन,’ महाकाली नगरपालिका–१० का अमरबहादुर खड्काले भने, ‘हामी त लकडाउनमा टापुमै फस्यौं ।’ उनका अनुसार लकडाउनका कारण अहिले खाद्यान्नलगायत वस्तुको मूल्यसमेत निकै बढेको छ । लकडाउनकै कारण यहाँ उत्पादित तरकारीसमेत बजार पु¥याउन नसकिएको स्थानीय बताउँछन् । यस क्षेत्रमा तरकारी उत्पादन निकै राम्रो हुन्छ ।

साविकको दोधारा र चाँदनी गाविसलाई गाभेर महाकाली नगरपालिका बनाइएको हो । यहाँका अधिकांश युवाहरू रोजगारीका लागि भारत जान्छन् । मावि तहसम्मका अध्ययनपछि उनीहरू रोजगारीका लागि भारत जाने गरेका हुन् । कोरोनाका कारण अहिले भारत पसेका अधिकांश युवाहरू घर फर्किएका छन् । गाउँमा रोजगारीका अवसर नहुँदा उनीहरूलाई दैनिक गुजारा चलाउन पनि समस्या हुन थालेको छ ।

‘कोरोनाका डरले घर फर्कियौं, अब यहाँ गुजारा चलाउनै मुस्किल हुन थाल्यो,’ मुम्बईबाट जेठमा घर फर्किएका महाकाली नगरपालिका–२ का बिरु सुनारले भने, ‘एकरडेढ महिना क्वारेन्टाइनमै बसेर बित्यो, गाउँमा काम पनि केही छैन ।’ उनी मुम्बईमा होटलमा काम गर्थे । मासिक १५ हजार तलब पाउँथे ।

4

यस क्षेत्रमा खेतीपाती बाहेक रोजगारीको अन्य अवसरहरू छैनन् । युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने योजनाहरू ल्याउने गरी यस वर्ष बजेटसमेत छुट्याइएको नगर प्रमुख वीरबहादुर सुनार बताउँछन् । तर कोरोनाको जोखिमका कारण विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए । ‘कोरोनाका कारण धेरै युवाहरू घर फर्किएका छन्, कतिपय त फेरि काममा फर्किसके,’ नगरप्रमुख सुनारले भने, ‘धेरै युवाहरू फर्केका कारण बेरोजगारको संख्या पनि बढेको छ ।’

महाकाली नगरपालिकामा कामका लागि भारत जानेको संख्या १५ हजारभन्दा बढी छ । कोरोनाका कारण घर फर्किनेको संख्या आधा मात्रै छ । तीमध्ये कतिपयले सानोतिनो व्यवसाय सुरु गरेका छन् भने केही मजदुरी गरिरहेका छन् । अधिकांश अहिले पनि बेरोजगार नै छन् । ‘यो क्षेत्र पूर्ण रूपमा ठप्प भएको पहिलो पटक हो,’ नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले भने, ‘द्वन्द्व, नाकाबन्दी र हडताल कुनै बेलासमेत यहाँ केही असर परेको थिएन, कोरोनाले थला पा¥यो ।