कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती सुरु गरेको दशक भन्दा बढी भयो । अन्न खेती धान, गहुँभन्दा तरकारी खेतीमा राम्रो कमाइ हुन थालेपछि व्यावसायिक रूपमा तरकारी खेती गरेर रानाले छोराछोरीको पढाइ खर्चसम्म चलाउन सफल भएका छन् । २०६४ सालदेखि तरकारी खेती गर्दै आएका तुलसीरामले अहिले ७ कठ्ठामा तरकारी खेती गरिरहेका छन् । उनले वार्षिक रूपमा एक लाखभन्दा बढी आम्दानी गरेर तरकारी खेतीबाटै छोराछोरीको शिक्षादिक्षा र घरखर्च चलाइरहेका छन् ।
झण्डै ६० घरपरिवार राना समुदाय बसोबास गरिरहेका नयाँ कटानमा अधिकांश परिवार तरकारी खेतीमा आबद्ध भएको तुलसीराम रानाले बताए । उनले आफूसित तरकारी खेतीमा लागेको परिवार बारीमा तरकारी फलाएर महेन्द्रनगर, सब्जीमण्डी र स्थानीय बस्तीमा बिक्री वितरण गर्दै आएको बताए । विगतको तरकारीको सिजनमा भारतीय तरकारीले प्रभाव पार्ने रानाको तरकारी खेतीमा यस पटक भने कोरोना महामारीका कारण प्रभाव परेको छैन ।
“अघिपछि जस्तो तरकारीको बजारलाई भारतीय तरकारीले प्रभाव पार्ने गरेको थियो, यस पटक भने कोरोना महामारीको प्रभावले भारतीय तरकारी आयात भएको छैन” रानाले भने, “भारतीय तरकारीले आगेटेको ठूलो बजार केही हदसम्म्म कम भएको छ, स्थानीय उत्पादनले बजार पाएको छ ।” स्थानीय उत्पादनले बजार पाएपनि बजारको क्षमताअनुसार तरकारी नगएको उनले बताए । कोरोनाका कारण अधिकांश शिक्षण संस्था बन्द छन् । केही विद्यालय सञ्चालन गरिएपनि स्थानीय स्तरका मात्रै छन् । कारोना महामारी सुरु भएसँगै भारतीय तरकारीको आयात घटेपनि स्थानीय तरकारी बजार भने अझै नबढेको राना बताउँछन् ।
“भारतीय तरकारीको आयातले स्थानीय किसानको तरकारी उत्पादन तथा खपतमा निकै समस्या पर्ने गरेको थियो, कोभिडपछि भारतीय तरकारी निकासा नभएकै कारण स्थानीय उत्पादनले मूल्य पाएको छ ।” उनले भने । कोभिडको असरपछिको समयमा पनि भारतबाट आयात कम गरेर स्थानीय उत्पादनलाई समेत प्रोत्साहन मिल्नुपर्ने उनले बताए । अन्य खेतीभन्दा मूल्य पायो भने तरकारी खेतीमा प्रत्यक्ष नाफा हुने गरेको भन्दै गाउँभरी तरकारी खेती गर्ने किसानको संख्यामा पनि बढ्दै गएको छ । रोजगारी केही नभएपछि आफ्नै खेतबाट उत्पादित तरकारीले राम्रो बजार पाउन थालेपछि रानाले तरकारी खेती सुरु गरेकी हुन् ।
“अहिलेको अवस्थामा रोजगारी पाउन निकै समस्या छ, रोजगारी पाउन पनि भनसुन गर्नुपर्छ” उनले भने, “बेरोजगार बस्नु भन्दा आफ्नै खेतबारीमा मेहनत गरेर कृषिबाटै आम्दानी गर्ने सोच गरें ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका नयाँ कटानका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन भने समस्या छ । निकुञ्जबाट आउने चित्तल, बँदेल र बाँदरलगायतका वन्यजन्तुले बाली खाएर हैरान गरेको किसानहरूको दुःखेसो छ । कटान बस्तीको केही भागमा निकुञ्जले तारजाली नलगाएका कारण वन्यजन्तु बस्ती छिर्ने गरेको रानाले बताए ।
कृषि बजार प्रवद्र्धन गर्ने नगरपालिकाको योजना
भीमदत्त नगरपालिकाले नगर क्षेत्रभित्रमा उत्पादन भएका कृषि वस्तुको बजार प्रवद्र्धन गर्ने योजना बनाएको छ । लामो समयदेखि भारतीय तरकारीले बजार ओगटेको क्षेत्रमा नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि बजार प्रवद्र्धन गर्ने योजना बनाएको छ । नगरपालिकाले किसानले उत्पादन गरेको तरकारीलाई बजार उपलब्ध गराउन गाउँ केन्दित बजार प्रवद्र्र्धन गर्ने योजना अघि बढाएको जनाएको छ ।
किसानले उत्पादन गरेको तरकारीलाई स्थानीय स्तरमै बजारीकरण गर्न नगरपालिकाले सहकारीका माध्यमबाट तरकारीको बजार प्रवद्र्धन गर्ने भीमदत्त नगरपालिकाका कृषि शाखा प्रमुख कृष्णदत्त पाण्डेयले बताए । “बजार नपाएका किसानका लागि गाउँमै उत्पादन भएको तरकारीलाई सहकारीमार्फत किनबेच गर्न सकिने योजना नगरपालिकाले बनाएको छ” कृषि शाखा प्रमुख पाण्डेयले भने । कृषि बजार प्रवाह गर्ने अभ्यास गर्ने चरणमा नगरपालिका रहेको उनले बताए ।