राष्ट्रिय गौरवको हुलाकी राजमार्गः हल्ला चर्को, काम सुस्त
2020/12/14, 8:08
 
sadak

कञ्चनपुरमा अघिल्लो हप्तादेखि सडकको ठेक्का लिएर काम नगर्ने कम्पनीका मालिकको फोटो सार्वजनिक स्थलमा टाँस्ने अभियान चलेको छ । फोटोमाथि लेखिएको छ– ठेकदार हराएको सूचना । हुलाकी राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्डको काम ३ वर्षभित्र सक्ने ठेक्का २०७३ सालमा लिएर अलपत्र छोडेपछि स्थानीयले विरोध गरेका हुन् । कञ्चनपुरमा हुलाकी सडकका तीनवटै खण्डमा कामको गति निराशाजनक छ ।

1

बेलौरी–बेलडाँडी खण्डमा एकवर्षदेखि काम रोकिएको छ । ठेकेदार कम्पनी बाबा–हंश सिद्धिसाई जेभी विभिन्न बहाना गरेर फिल्डमा गएकै छैन । डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्म र बेलडाँडीदेखि दैजीसम्मको सडक निर्माणको ठेक्का म्याद चौथो पटक थपिँदैछ । ३५ करोड र ४० करोडमा ठेक्का लागेका दुई खण्डमा अहिले माटो भर्ने काम चलिरहेको छ । जबकी, यो सडक नै २०७६ असारमा तयार भइसक्नु पर्ने हो ।

‘मधेसको लाइफलाइन’ भनेर प्रचार गरिएको हुलाकी राजमार्ग सरकारी बेवास्ताको शिकार बनेको बेलौरीका वासिन्दा रोहन भट्ट बताउँछन् । ‘ठेक्का लगाएर मात्रै हुँदैन, ठेकेदारबाट काम पनि लिनुपर्छ,’ उनी भन्छन्, ‘अबको चुनावमा फेरि यही सडक कालोपत्रे गर्छु भनेर भोट माग्न आए भने जनताले लखेट्छन् भन्ने नेताले बुझुन् ।’  कञ्चनपुरमा मात्र होइन, हुलाकी सडकका लगभग सबैतिर यस्ता समस्या छन् । 
 

हुलाकी राजमार्गः १६ वर्षमा ६०० किमी
हुलाकी सडक पूर्व–पश्चिम राजमार्गभन्दा पहिल्यै प्रचलित मार्गहरुको उपयोग गर्ने गरी तयार भएको आयोजना हो । तराई–मधेसमा हुलाकीहरुले चिठ्ठी ओसारपसार गर्ने यो बाटोलाई सडकको रुपमा विकास गर्ने घोषणा भएको ३० वर्ष बित्यो । हुलाकी सडकले एकीकृत रुप भने अझै पाएको छैन ।  तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखर २०४७ सालमा नेपाल भ्रमणमा आउँदा हुलाकी सडक निर्माण गर्ने घोषणा गरेका थिए । त्यसको १४ वर्षपछि ०६१ सालमा दुई देशबीच निर्माणको लागि औपचारिक सम्झौता भयो । तर, निर्माणले अझै गति लिन सकेको छैन । बरु भारतीय पक्ष यो आयोजनाबाट पछि हटिसकेको छ ।

2

५ अर्ब रुपैयाँ बराबरको ठेक्का भारतीय पक्षमा गएको यो आयोजना सुरु भएको १६ वर्षमा मात्र ६०२ किलोमिटर सडक कालोपत्रे भएको छ । थप २२६ किलोमिटर ग्राभेल भएको छ । तराई–मधेशका १७ जिल्ला छुने यो सडकको करिब  साढे नौसय किमि अझै ट्रयाकमा सीमित छ ।  यो सडकको पूर्व–पश्चिम खण्ड ९७५ किमी र महेन्द्र राजमार्गसँग जोड्ने सहायक खण्ड र सडकहरु ८१७ किमीका हुनेछन् । यो सडकको कुल लम्वाई १७९२.२५ किमी हुनेछ ।  सडक विभागमा अनुसार यो सडकको ६९५ किलोमिटर खण्ड ठेक्का लागेर निर्माणधीन अवस्थामा छ । राष्ट्रिय निकुञ्ज क्षेत्रहरुमा भने ठेक्का लागेको छैन । 

यो सडकको ग्राभेल र कच्ची खण्डहरु वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्य हुने गरेका छन् । कालोपत्रे भएका कतिपय खण्ड पनि जीर्ण भइसकेका छन् । यसबाट सडक आसपासका जनतालाई सास्तीसंगै दुर्घट्नाको जोखिम बढेको छ ।  २०७४ सालमा नयाँ सरकार बनेपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चारवर्षभित्र यो सडक तयार हुने घोषणा गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रिय गौरबका आयोजनाको समीक्षा बैठकमा आम चुनावअघि नै हुलाकी सडक निर्माण गरिसक्न निर्देशन दिएका थिए ।

1

सुरुमा आयोजना ४७ अर्ब रुपैयाँमा तयार भइसक्ने अनुमान थियो । अहिलेको संशोधित अनुमान अनुसार यो राजमार्गको लागत ६५ अर्ब २० करोड पुगेको छ । यसमध्ये अहिलेसम्म ३७ अर्ब १ करोड खर्च भएको छ । वित्तीय प्रगतिका हिसावले यो आयोजनामा अहिलेसम्म ५६.६७ प्रतिशत प्रगति भएको छ ।  सडक विभागका अनुसार, चालु आवको पहिलो चार महिनामा हुलाकी सडकको ९० किलोमिटर खण्ड कालोपत्रे भएको छ । यो अवधिमा २३ किमि ग्राभेल गरिएको र ३ वटा पुल बनेको छ ।