सडक सञ्जालसँग जोडिँदै कञ्चनपुरको चुरेफेदीको बस्ती घाडिघाँच
सुगम जिल्लाको दुर्गम क्षेत्र
2020/12/15, 10:35
 
sadak

चुरेफेदीमा अवस्थित घाँडिघाँच क्षेत्र भन्ने बित्तिकै सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिन्छ । शिक्षा, स्वास्थ्य तथा विशेषगरी खानेपानी अभाव, सिँचाइ, नदी खोलाले कटान गर्ने क्षेत्र तथा सडकको राम्रोसँग पहुँच नपाएको क्षेत्र भनेर पछिल्लो समयमा पनि बसाइँ सर्दाको बखत घाँडिघाँच क्षेत्रलाई मन पराउँदैनन् । तर अबका दिनका लागि भने उक्त क्षेत्र विकासका दृष्टिले अगाडि बढ्दै गइरहेको छ । एकपछि अर्काे धमाधम विकास निमार्णका कार्य हुन थालेपछि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको उत्तरी भेगमा अवस्थित चुरेफेदीको बस्ती विकाससँगै सडक सञ्जालसँग जोडिन थालेको छ ।

भीमदत्त नगरपालिका–९ स्थित ब्रह्रमदेव क्षेत्रदेखि चुरेफेदीको बस्ती हुँदै भीमदत्त नगरपालिका–१०, ८, ७, ३ र वडा नम्बर १ सम्म विभिन्न विकास निर्माणका कार्य भइरहेको छन् । नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा अहिले लिंक रोड, महाकाली सिँचाइ आयोजना तेस्रो चरणसँगै जैविकमार्ग र अन्य सानातिना सडक निर्माणका काम भइरहेका छन् भने केही सम्पन्न भएका छन् । कालोपत्रे सडकको पहुँच नपाएको ग्रामीण क्षेत्रको भेगसम्मै कालोपत्रे सडकको पहुँच पुग्न थालेको छ ।

“पुराना दिन बित्दै गएपछि अहिले आएका नयाँ दिनमा ग्रामीण भेगको बस्तीलाई सडक सञ्जालले जोड्दै गएकोे छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरस्थित करन दमाईले भने, “विगतको भन्दा पछिल्लो दिनमा सडक पहुँचलगायत अन्य विकास निर्माणका कार्यले जीवनशैली नै परिवर्तन भएको छ, विकट क्षेत्र भनेर हेपिदै आएको यस क्षेत्रमा सडक सञ्जालको राम्रो पहुँच भएको छ ।” विगतका दिनमा बिरामी भयो भने पनि एम्बुलेन्स घरमा पुग्ने अवस्था थिएन । बजारलगायत कतै निस्कनु प-यो भने पनि झण्डै आधा घण्टा जति हिँड्नु पर्ने बाध्यता रहेको दमाईले बताए ।

सदरमुकाम क्षेत्रबाट उत्तरी भेग पर्यटनका दृष्टिले पनि एकदमै सुन्दर छ । विभिन्न मन्दिर तथा धार्मिक सम्पदा रहेका छन् । सम्पदा भए पनि लामो समयदेखि उक्त क्षेत्रको प्रचारप्रसार लगायत संवद्र्धन भएको थिएन । सडक सञ्जालसँगै विकास निर्माण पनि जोडिएपछि उक्त क्षेत्रमा मानवीय चहलपहल पनि बढेको छ । चुरेफेदीमा नगरपालिकाले निर्माण गरेको जैविक मार्गले फेदीको बस्तीमा परिवर्तन ल्याएको छ ।

“सडक नपुगेको अवस्थामा सडक पुगेपछि धेरै फाइदा भएको छ, मानिसहरूको आवतजावत बढेको छ, सडक किनारमा सानो व्यवसाय गर्नेका लागि पनि सहज भएको छ ।” दमाईले भने, “पहिले दिनमा मानिस आउन पनि डराउँथे, जंगल घाडिघाँच भनेर पनि पछाडि परिएको थियो, अब अहिले यस्तो कुरा सबै हराउँदै गएका छन्, राम्रो भएको छ ।” विगतका दिनमा यस क्षेत्रमा सडक तथा खानेपानीको समस्या थियो । तर हाल सडक सञ्जालसँगै खानेपानीको समस्या टरेको उनले बताए ।

यस्तै ब्रह्मदेव भएर चुरेको समानान्तर क्षेत्रमा नगरपालिकाको चुरेफेदीको बस्तीसम्म विभिन्न ठूला तथा साना सडक निर्माणमा छन् । महाकाली नदीको टनकपुर पुलबाट ब्रह्मदेव भएर आउने महाकाली सिंँचाइ आयोजना तेस्रो चरणको नहर निर्माण सुरु भएपछि विभिन्न खोलानालाको कटानमा नियन्त्रण भएको छ । बर्खाको समयमा नाम निसानै हराउने खोलानाला पनि जोगिएका छन् । चुरे फेदीमा २०२२÷०२३ देखि बसोबास सुरु भएको हो । वनजंगलनजिक भएकाले घांँस दाउरा र गाईवस्तु चराउन सहज हुने भएकाले अधिकांशको रोजाइ घाडीघांँच क्षेत्र नै हुन्थ्यो । तर खानेपानी, बाटोघाटो र सिंँचाइ सुविधाको अभावले यस क्षेत्रको जनजीवन कष्टकर थियो । अहिले भने सडक सञ्जाललगायतको विकासले घाडीघांँच क्षेत्र बसोबासका लागि सबैभन्दा उत्कृष्ट क्षेत्र बनेको छ । “विगतमा खानलाई राम्रोसँग पानी पनि नपाइने अवस्था थियो, जमिन धेरै भए पनि खेतीपाती केही हुने थिएन, वर्षायाममा खेतमा रोपाइँ गर्न आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो ।”

यस्तै भीमदत्त नगरपालिका–३ स्थित तिलकपुरका मीनबहादुर सुनारले भने, “अहिले ठाउँठाउँमा ट्युबेल जडान गरिएको छ, खानेपानीको व्यवस्था भएको छ, खोलानाला नियन्त्रण भएका छन्, विकासका दृष्टिले बसोबासका लागि उपयुक्त भएको छ ।” हिउँदमा चिसोको जोखिम गर्मीमा गर्मीको जोखिम हुने घाँडिघाँच क्षेत्र सिचाइँलगायत क्षेत्रले हरियाली हुने गरेको छ । ग्रामीण भेगमा पहुँच मार्गसँगै कालोपत्रे सडकले जोडेपछि फेदीको बस्तीसँग जोडिएका धार्मिकस्थलमा पनि आन्तरिक पर्यटक बढ्दै गएपछि चहलपहल बढेको सुनारले बताए । उनका अनुसार चुरेफेदीको बस्ती जिल्लाकै पुरानो हो । सदरमुकामसँगै जोडिएको बस्ती भए पनि विगतमा विकास निर्माणका हिसाबले टाढा थियो । केही वर्षयता विभिन्न आयोजना सञ्चालन हुन थालेपछि बाटाघाटा धमाधम खुल्न थालेका हुन् । “विगतमा ग्रामीण भेगको भित्रीभागसम्म पैदल हिँड्ने बाटोसमेत थिएन, अहिले बाह्रै महिना गाडि चल्छ ।, धेरै सडक बनेका छन् धेरै सडक बन्ने क्रममा छन्,” उनले भने ।

सुनारजस्तै भीमदत्त नगरपालिका–७ स्थित हल्दुखालका मदन चन्दले पनि उत्तरी भेगमा चुरे क्षेत्रमा अवस्थित घाँडिघाँच क्षेत्र निकै विकसित भएको बताए । “कुनै बेला यस्तो थियो, महेन्द्र राजमार्गभन्दा माथि रहेको घाँडिघाँच क्षेत्रमा राजमार्गभन्दा तल रहेको बस्तीबाट स्थानीय छोरी दिन पनि नराम्रो मान्ने चलन थियो, दिन मान्दैनथे,” मदन चन्दले भने, “अहिले जुन विकास भएको छ, त्यसले गर्दा राजमार्गको तल्लो क्षेत्रभन्दा राजमार्गमाथिको क्षेत्र सुगम भएको छ ।” सडक सञ्जालकै कारण शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा परिवर्तन भएको उनले बताए ।