पहिरो प्रभावित पिडाः चिसोमा त्रिपालमुनि बास
2020/12/16, 12:20
 
pidit

कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित तराई झरेर त्रिपालमुनि बास बस्न थालेका छन् । गौरीगङ्गा नगरपालिका–१ स्थित राष्ट्रिय वन क्षेत्रमा उनीहरु चिसोमा त्रिपालमुनि रात काट्न थालेका हुन । पुनस्र्थापनाको माग गर्दै तराई झरेको प्रभावितले बताएका छन् । अहिले झन्डै एक सय परिवार चुरेबाट आएर जङ्गलमा बास बसिरहेका छन् । 

गत साउनमा पहिरोको जोखिम भएपछि विस्थापित भएका उनीहरु सुरक्षित बसोबासको खोजीमा तराई झरेका बताउँछन् । विगत चार महिनादेखि घर छोडेका उनीहरु केही दिन अगाडि गौरीगङ्गा नगरपालिकास्थित वन क्षेत्रमा आएर बसेका हुन ।  उचित पुनस्र्थापनाको खोजीमा रहेको आफूहरु गत शुक्रबार तराई झरेको चुरे गाउँपालिका–६ गौजनाका भक्तबहादुर बोहराले बताए । ‘पहिरोको जोखिम टरेको छैन । सुरक्षित ठाउँमा हामीलाई नसारेपछि उपयुक्त बसोबास खोज्दै तराई झरेका हौं’, उनले भने । 

प्रभावितहरुका अनुसार गत साउन १५ देखि २५ गतेसम्म पहिरो खसेको थियो । माथिबाट खसेको पहिरो घरसम्मै पुग्यो । जोखिम बढेपछि वडा नम्बर ४, ५, ६ मा पर्ने गौजना, बगेडी, तल्लो गौजना, गुँडी, तितरे, बसडी र सिस्नेरी गाउँका २११ परिवार प्रभावित भएका छन् । ‘घरमा बस्न नसकेर हामी तल झरेका हौं’, वडा नम्बर ६ बगेडीकी पद्मा कार्कीले भनिन् । सरकारले आफूहरुको तत्काल पुनस्र्थापना गर्नु पर्ने उनले बताइन् । पहिरो खसेपछि घरबाट विस्थापित भइ विद्यालय, सडक छेउछाउमा चार महिना बिताएको पूर्णबहादुर कार्कीले बताए ।

‘यत्तिका दिनसम्म हाम्रो केही व्यवस्था हुने आशमा बसेका थियौं’, उनले भने । ‘कसैले चासे नदिएपछि तराई झरेका हौं ।’ गत शुक्रबार छिमेकी स्थानीय तह गौरीगङ्गा पुगेका प्रभावितहरु वन क्षेत्रमा त्रिपालमुनि बसिरहेका छन् । चिसो मौसममा बालबच्चासहित वन क्षेत्रमा पुगेका उनीहरुले सरकारले शीघ्र उपयुक्त बसोबासको व्यवस्था गर्नु पर्ने माग राखेका छन् । 

‘चिसोमा बालबालिकालाई समस्या हुन्छ । कतिञ्जेलसम्म यसरी बस्ने ?’, दुई बच्चाकी आमा निर्मला बोहराले भनिन् । ‘हामीलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गरियोस ।’ चिसो छल्न रातभरि आगो टापेर बस्ने गरेको उनको भनाइ थियो । विस्थापित भएपछि बालबालिकालाई स्कुल जान पनि समस्या रहेको उनले उल्लेख गरिन । 

‘यस्तो महामारीको बेला जंगलमा बसेपछि बालबालिका विद्यालय जान पाएका छैनन्’, उनले भनिन् । केही पहिरो प्रभावित अझै गाउँतिरै रहेका जनाइएको छ । गाउँतिरै रहेका पहिरो प्रभावित बाँकी परिवार पनि तराई झर्ने तयारी गरेको विस्थापितले बताएका छन् ।  उनीहरुका अनुसार पहिरो खसेर गाउँमा खेतीपातीसमेत गर्न सकिने अवस्था छैन । खेतमा झरेको पहिरोले आफूहरुको गुजारा गर्ने जमिनसमेत खोसेको पूर्णबहादुर कार्कीले बताए । 

‘कसै–कसैको घरमा पनि पहिरो खस्यो’, उनल भने । ‘तर, प्रायः व्यक्तिको खेतीयोग्य जमिनमा पहिरो खसेर जमिननै खोसेको छ ।’ प्रभावितहरुले आफूहरुको उचित पुनस्र्थापनाको दबाब दिनका लागि सङ्घर्ष समितिसमेत गठन गरेका छन् । उचित पुनस्र्थापना नभएमा सङ्घर्षमा उत्रिने चेतावनीसमेत दिएका छन् ।  प्रभावितहरुको व्यवस्थापनका लागि पहल गरिरहेको चुरे गाउँपालिकाको कार्यालयले जनाएको छ । प्रभावितहरुको व्यवस्थापन गाउँपालिकाले आफैले गर्न नसक्ने भएकाले माथिल्ला निकायमा पहल गरिरहेको सो गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले बताए ।

‘उनीहरुको व्यवस्थापन हामीले भन्दा पनि राज्यले गर्ने कुरा हो’, उनले भने । ‘उचित व्यवस्थापनका लागि हामीले प्रदेश र सङ्घीय सरकारलाई पत्र पठाइ सकेका छौं ।’ गाउँपालिकाले पहिरो, बाढी प्रभावित २११ परिवारको तथ्याङ्क राखेको रोकामगरले जानकारी दिए ।प्रभावितहरुलाई बस्नका लागि गाउँपालिकाले कार्यालयले केही ठाउँमा विकल्प पनि दिएको अध्यक्ष रोकमगरले बताए । ‘अहिले भने उनीहरु आफै तराईमा गएका हुन’, उनले भने । ‘गाउँपालिकाले त्यहाँ गएर बस्नका लागि केही पनि भनेको छैन ।’ उनीहरुको उचित बसोबासका लागि मंगलबार पनि प्रदेश र संघीय सरकारलाई आग्रह गरेको अध्यक्ष रोकामगरले बताए ।