सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार सम्बन्धी उजुरी बढ्दै गएका छन् । सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार सम्बन्धी उजुरी बढ्दै गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरले जनाएको हो । सो कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पहिलो आर्थिक वर्षको चौमासिकमा ४३२ उजुरी दर्ता भएका छन् । दर्ता हुन आउने अधिकांश उजुरी स्थानीय तहसंग सरोकारित उजुरी रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चि प्रदेश कार्यालयका सूचना अधिकारी हरिश चन्द्र जोशीले बताए ।
‘गत वर्षको तुलनामा आयोगमा पर्ने उजुरीको सङ्ख्यामा बढोत्तरी देखिएको छ । यस आर्थिक वर्षको पहिलो चौमासिकसहित हालसम्म एक हजार २७० उजुरी आयोगको प्रदेश कार्यालयमा दर्ता भएका छन् ।’ सूचना अधिकारी जोशीले भने, ‘प्रदेश भरीको उजुरीको सङ्ख्या मध्ये सबैभन्दा बढी उजुरी कैलालीे र सबैभन्दा कम बाजुरा जिल्लाको रहेका छन् ।’ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बाजुराका १६, बझाङका ४२, दार्चुलाका ३५, बैतडी ३८, डडेल्धुरा २९, डोटी ६२, अछाम २७, कैलालीका ९२, कञ्चनपुर ९० र स्थान नखुलेको १ गरी हालसम्म ४३२ उजुरी दर्ता भएको उनले बताए ।
सूचना अधिकारी जोशीका अनुसार गत आर्थिक वर्षको मसान्त सम्म ९ सय १२ उजुरी दर्ता भएका थिए । दर्ता भएका गत आर्थिक वर्षका उजुरी मध्ये आयोगले ७ सय ४१ दर्ता उजुरी फछर्योट गरेको जोशीले बताए । सो कार्यालयका अनुसार अधिकांशं उजुरी स्थानीय तह सम्बन्धी उजुरी बढी आउने गरेको छ । ‘स्थानीय तहमा आफू अनुकुल हुने दरबन्दी मिलान लगायत स्थानीय तहको अधिकार दुरुपयोग जस्ता कार्यहरु बढ्दै गएको अवस्थामा उजुरीको सङ्ख्या बढी नै छ ।’ जोशीले भने, ‘पछिल्लो समयमा कार्यालय गत दृष्ट्रिणले पनि अख्तियारले पनि सक्रियता बढाएको छ, यो सँगै नागरिक पनि चेतनशील भएका कारण उजुरीहरू बढ्दै गएका छन् ।’
स्थानीय तहमा पनि शिक्षा तथा वन कार्यालय सम्बन्धी उजुरी पनि बढेको उनले बताए । यस अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयले गरेको २७ स्टिङ अपरेसनबाट ४० लाख ५५ हजार ६ सय ५० नगद सहित ४४ जना रंगेहात पक्राउ परेका छन् । यस्तै कार्यालयले चालु आर्थिक वर्षको हालसम्म अख्तियारको कार्यालयले दुई पटक स्टिङ अपरेसन समेत गरेको छ ।
सचेतनामा कमी
भ्रष्टाचार विरुद्ध काम गर्ने संघ सस्थाले भने भ्रष्टाचार विरुद्धको सचेतनाको कमीका कारण सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार बढेको जनाएका छन् । नागरिक निगरानी संस्था कञ्चनपुरका सचिव कोमल निरञ्जन भाटले भ्रष्टाचार विरुद्धको सचेतना कमीका कारण सुदूरपश्चिममा भ्रष्टाचार सम्वन्धी उजुरीको सङ्ख्या बढेको बताए । ‘सुदूरपश्चिम प्रदेश भौगौलिक तवरले पनि दुर्गम छ । भ्रष्ट्राचार विरुद्ध काम गर्ने संघ संस्थाको पहुँच पनि न्युन छ’, सचिव भाटले भने, ‘राज्यको उपस्थिति भएपनि भ्रष्टाचार विरुद्धको सचेतनाको कमी छ । जसका कारण दिनप्रति दिन भ्रष्टाचारको उजुरीको सङ्ख्या बढ्दै गइरहेको छ ।’ भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि भ्रष्टाचारीलाई समात्ने नियन्त्रण गर्ने कार्यहरुभन्दा भ्रष्टाचार हुन नदिने वातावरण सृजना गनुपर्ने उनले बताए ।
सुदूरपश्चिममा हुने अधिकांश भ्रष्टाचारका उजुरी स्थानीय तहसंग सम्बन्धित आउने गरेकाले भ्रष्टाचारमा कमी ल्याउन स्थानीय तहहरु अग्रसर हुनु पर्ने देखिन्छ । यस्तै स्थानीय तहमा हुने भ्रष्टाचारका कुराहरुमा नागरिक स्तरमा पनि खुलेर विरोध हुन नसक्नुले पनि भ्रष्टाचार बढेको भाटले बताए । ‘प्रदेशमा घट्ने भ्रष्टाचारका घटनामध्ये प्रदेशका स्थानीय तहमा भ्रष्ट्राचार बढी छ भन्ने कुरा सर्ववितितै छ । स्थानीय तहमा हुने भ्रष्टाचारमा सुशासन, पारदर्शी नहुनु लगायतका कुराले प्रदेशमा भ्रष्टाचारले जरो गाडेको छ’, सचिव भाटले भने, । स्थानीय स्तर तथा स्थानीय तहमा हुने भ्रष्टाचारलाई निराकरण गर्नको लागि स्थानीय तहले नै भ्रष्टाचार विरुद्ध सचेतना गर्नुपर्ने उनको भनाई छ ।
यसैगरी स्थानीय तथा व्यवसायी सिद्धराज भट्टले पनि भ्रष्टाचार बढाउनुमा सरकारकै कमजोरी भएको बताए । उनले भ्रष्टाचारको जरा स्थानीय तह भएको भनेर नेपाल सरकारलाईसमेत थाहा भएको भएपनि निराकरण गर्न कुनै निकायले पनि खास पहल नचाल्दा सुदूरपश्चिमका भ्रष्टाचार बढेको उनले प्रतिक्रिया दिए । ‘भ्रष्टाचार हुदै छ तथा भ्रष्टाचार स्थानीय तहमा धेरै छ भन्ने कुरो सबैलाई थाहा छ । स्थानीय तहको नजिकको भनेको नागरिक भएकोले पनि नागरिकलाई थाहा नहुने कुरा हुदैन ।’ स्थानीय भट्टले भने, ‘भ्रष्ट्राचार त भ्रष्ट्राचार तर अहिलेको स्थानिय तहमा सबैभन्दा बढी आथिर्क क्षेत्रमा बढी भ्रष्ट्राचार हुने गरेको छ ।
भ्रष्टाचार नियन्त्रण गर्न संघसस्था भएपनि पारदर्शी ढङ्गले नियन्त्रण गर्नुको साटो मिलेर भ्रष्ट्राचार हुन्छ ।’ स्थानीय तहले निर्माण क्षेत्रमा विभिन्न कार्य गरेपनि पारदर्शी तरिकाले गरिएको छैन । निर्माण क्षेत्रसँगै प्रवेश गरेको कोरोना नियन्त्रणमा पनि स्थानीय तहले धेरै भ्रष्टाचार भएको उनले बताए ।