ढुंगा नहुँदा महाकाली पुलको काम प्रभावित
2021/02/07, 11:02
 
pool

महाकाली नदीपारिको दोधारा चाँदनीलाई सडक सञ्जालसँग जोड्ने पुलको काम ठूला ढुंगाको अभावमा प्रभावित भएको छ । पुलको दुवैतर्फ निर्माण हुने पोखरीको तटबन्ध ९गाइड बन्ड० बनाउन ठूला ढुंगाको अभाव भएको हो ।

चार लेनको पुल निर्माणस्थलमा महाकालीको चौडाइ २ किलोमिटर छ । पुलको लम्बाइ भने ८ सय मिटरमात्रै छ । नदीलाई पुलको लम्बाइभित्र बगाउन दुवैतर्फ झन्डै साढे ५ किलोमिटर लामो तटबन्ध बनाउनुपर्छ । त्यसैका लागि ठूला ढुंगा आवश्यक परेको हो ।

पुलसम्मको पहुँच मार्गसँगै दुवैतर्फ २८ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइका पोखरीहरू निर्माण हुनेछन् । पोखरी बनाउन नदी किनारमा ठूलो ढुंगाको तटबन्ध निर्माण गर्नुपर्ने पुलको डिजाइन इस्टिमेटमा उल्लेख छ । निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयका अनुसार तटबन्ध बनाउन १ लाख ४३ हजार घनमिटर ढुंगा आवश्यक पर्छ, जसमध्ये करिब १ लाख घनमिटर ढुंगा २ सय ५७ किलोग्राम तौलको चाहिने उनले बताए ।

‘महाकालीमा बाढी आउँदा २५२ किलोग्रामसम्मको ढुंगा बगाउन सक्दैन भन्ने अनुमान छ,’ इन्जिनियर पाण्डेयले भने, ‘त्यही भएर गाइड बन्डमा ठूला ढुंगा लगाउनुपर्छ ।’ तटबन्ध बनाउन नसके पुल नदीको बीचमा हुनेछ । ‘पहुँचमार्ग बनाउन नसकिएपछि नदीको बीचमा बनेको पुल हेरेर बस्नु मात्रै हुनेछ,’ पाण्डेयले भने, ‘तत्काल ठूलो ढुंगा पाइए यस वर्ष एकतर्फको गाइड बन्डको काम सक्ने योजना छ ।’

उनले गाइड बन्ड बनाउन नसक्दा साढे तीन किलोमिटर पहुँच मार्गको काम पनि रोकिएको बताए । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने उक्त पुलसँगै गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म साढे ८ किलोमिटर पहुँचमार्ग निर्माण भइरहेको हो ।

ढुंगाकै अभावमा ३ किमि सडक निर्माण पनि प्रभावित भएको छ । ‘असारसम्म पुलको काम सकिन्छ, तर बाटो निर्माण हुन नसके नदीको बीचमा पुल हुन्छ,’ पाण्डेयले भने, ‘पुलसम्मको अस्थायी पहुँचमार्ग पनि बाढीले बगाउन सक्छ ।’ हालसम्म पुलको ६० प्रतिशत काम सकिएको छ ।

ठेक्का सम्झौतामा उल्लेख भएको आयोजनास्थलको उत्तर पूर्वी क्षेत्र ब्रह्मदेव र बेदकोट नगरपालिका क्षेत्रका खोलानालाहरू उत्खननका लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन ९आईई० समेत गरिएको छ । त्यही अनुसार निर्माण कम्पनीले केही दिनअघि खन्याखोलाबाट ठूला ढुंगा उठाउन थालेको थियो ।

तर स्थानीयले विरोध गरेपछि काम बन्द छ । भीमदत्त नगरपालिकाले निर्माण सामग्री उत्खननका लागि रौटेला, खन्याखोला, कामीकाटे र भिमिरगाडको आईर्ई गरेको छ । ती खोलाहरूबाट दैनिक ३ सय घनमिटर निर्माण सामग्री उत्खनन गर्न पाउने आईईमा उल्लेख छ ।

‘हामीले आईई गरेको क्षेत्र वनमा परेका कारण संकलन गर्न रोक लगाइएको हो,’ भीमदत्तका वातावरण अधिकृत गणेश ठगुन्नाले भने, ‘सुरुमा थाहा नभएर वनको क्षेत्रमा पनि आईई भयो, पछि नापनक्सा गर्दा वनमा पर्ने देखियो ।’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्धरले वन क्षेत्रबाट निर्माण सामग्री उत्खननका लागि संघीय मन्त्रिपरिषद्को निर्णयबाट मात्रै सम्भव हुने बताए ।

‘जिल्ला विपद् व्यवस्थापन समितिले विपद् हुने जोखिम नदेखेमा केही उत्खनन गर्ने निर्णय गर्न सक्छ,’ उनले भने, ‘तर यति ठूलो परिमाणमा ढुंगा उत्खननका लागि मन्त्रिपरिषद्कै निर्णय आवश्यक पर्छ ।’ ब्रह्मदेव र बेदकोट क्षेत्रका खोलाहरूबाट मात्रै झन्डै डेढ लाख घनमिटर ठूलो ढुंगा उपलब्ध हुन नसक्ने भएकाले आयोजना कार्यालयले विकल्प सोच्नुपर्ने उनले बताए ।