धनगढीमा एकल महिलाले रासायनरहित कम्पोष्टेबल सेनेटरी प्याड उत्पादन गर्दै
2021/02/10, 12:03
 
sanitary

धनगढीमा एकल महिलाले रसायनरहित स्यानिटरी प्याडको उत्पादन थालेका छन् । उनीहरूले महिलाका प्रजनन् स्वास्थ्यलाई मध्यनजर गरेर त्यस्तो प्याड उत्पादन गर्न थालेका हुन् ।

मानवअधिकारका लागि एकल महिला सुदूरपश्चिम समितिमार्फत उपकरण भित्र्याएर ‘कम्पोस्टेबल’ स्यानिटरी प्याड उत्पादन गर्न थालेको मानव अधिकारका लागि एकल महिला समूहका प्रादेशिक अधिकृत बेद अवस्थीले बताइन् । अन्य प्याडको तुलनामा यो प्याड रसायनरहित हुनुका साथै प्रयोग गर्न सहज हुने उनले बताइन् ।

प्लास्टिकयुक्त स्यानिटरी प्याड प्रयोग गर्दा सेतो पानी बग्ने, पाठेघरमा इन्फेक्सन हुनेलगायतका समस्या देखिन थालेपछि त्यसबाट मुक्ति दिलाउन आफूहरूले कम्पोस्टेबल स्यानिटरी प्याड उत्पादन गर्न सुरु गरेको अवस्थीले बताइन् ।

उनले स्यानिटरी प्याडको उत्पादन माघको पहिलो सातादेखि नै सुरु गरेको भए पनि यसको माग विभिन्न ठाउँबाट आउन थालेको बताइन् । मागअनुसारको स्यानिटरी प्याड उत्पादन गर्न समस्या रहेको उनको भनाइ छ ।

"हामी पाँच जना मात्रै छौँ, हामीसँग जम्मा दुइटा मेसिन छन् । मेसिन बढी भएको भए उत्पादन धेरै हुने थियो । हातले चलाउनुपर्ने मेसिन हुँदा उत्पादन थोरै भएको छ, उनले भनिन् । उनले अटोमेटिक मेसिन भएको भए सहज हुने बताइन् ।

अवस्थीले आठ वटा पिसको ५० देखि ६० रुपैयाँसम्ममा बजारमा ल्याउने तयारी रहेको बताउँदै उद्योगलाई व्यवस्थित गरेर सञ्चालन गर्न स्थानीय निकायसँग सहकार्य भइरहेको बताइन् । स्यानिटरी प्याड सफा र गुणस्तरयुक्त नभएमा विभिन्न स्वास्थ्य समस्यासमेत हुन सक्ने खतरा रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

No description available.

प्लास्टिकयुक्त स्यानिटरी प्याड प्रयोग गर्दा पाठेघरमा इन्फेक्सन हुन सक्ने, सेतो पानी बग्नेजस्ता समस्या देखिने गरेको बताइन्छ । तर, आफूहरूले महिलाको प्रजनन् स्वास्थ्यलाई मध्यनजर गरेर स्यानिटरी प्याड उत्पादन गरिरहेको अवस्थीले बताइन् । "प्रयोग गरेका स्यानिटरी प्याड जताततै फाल्ने गरिएको छ । त्यसरी प्याड फाल्दा वातावरणमा प्रदूषण बढ्ने गरेको छ, उनले भनिन् । तर, कम्पोस्टेबल स्यानिटरी प्याड बढीमा ६० दिनभित्र कुहिने अवस्थीको भनाइ छ ।

No description available.

स्यानिटरी प्याडले गर्दा हुने वातावरण प्रदूषण र महिलामा देखिने स्वास्थ्य समस्या निराकरणका लागि कम्पोस्टेबल स्यानिटरी प्याड उत्पादन थालेको उनको भनाइ छ । यो प्याड उत्पादनका लागि पाँच जना एकल महिलालाई रोजगारीसमेत दिइएको छ । उनले स्यानिटरी प्याड उत्पादनले एकल महिलालाई रोजगारीका साथै हौसलासमेत मिलेको बताइन् ।