कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित जोगबुढा नदीमा तटबन्ध निर्माणका लागि यसपटक बजेट नराखिदा स्थानीय निराश भएका छन् ।
विगत लामो समयदेखि जोगबुढा नदी पारि बसोबास गर्दै आएका कुतियाकबरवासी जोगबुढा नदी नियन्त्रणको लागि निर्माण भइरहेको तटबन्धमा यसपटक बजेट नराख्दा निराश भएका हुन । राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम अन्तर्गत नदी पारि कुतियाकबर क्षेत्रमा विगतको वर्ष नदी नियनत्रणका लागि दुई सय मिटर तारजाली सहितको तटबन्ध निर्माण भएको थियो ।
थप कार्यक्रमसहित थप तटबन्ध नयाँ आर्थिक वर्षमा गरिने आश्वसन पाएका कुतियाकबरका स्थानीय तटबन्ध निर्माणका लागि बजेट नआएपछि निराश भएका छन् । सुरु भएको काम बीचमै अलपत्र हुनेकी भनेर उनीहरुको चिन्ता बढेको छ ।
‘विगतका धेरै वर्षहरु तटबन्ध निर्माण नभएर बितेका थिए । गएको वर्ष राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत नदी किनारको जोगबुढा नदी क्षेत्रमा करिब दुई सय मिटरको तटबन्ध निमार्ण गर्ने कार्य भएको थियो’, दोधारा चाँदनी नगरपालिका–१० का स्थानीय टंकलाल जोशीले भने–‘कुनै दिन एक सय घरधुरी भएको कुतियाकबर क्षेत्र अहिले ३५ घरधुरीमा झरेको छ । नदी नियन्त्रणको लागि निर्माण सुरु गरिएको तटबन्ध पनि अधुरै रहेको छ ।’ बस्ती किनारदेखि झोलुङ्गे पुलसम्ममात्रै सानो क्षेत्रमा तटबन्ध बनाइएको उनले बताए ।
कुतियाकबरका स्थानीयले लामो समयदेखि वर्षायाममा जोगबुढा नदीबाट प्रभावित हुनु पर्ने बाध्यता रहेको छ । वर्षा सुरु भएपछि जोगबुढा नदीसँगै जोडिएको महाकाली नदी क्षेत्रमा पनि पानीको बहाव बढी भएपछि बस्तीमा डुबान हुने गरेकोछ । ‘विगतका वर्षहरु झै प्रत्येक वर्ष नगरपालिका क्षेत्रको पुरै गाउँ डुबान पर्ने क्षेत्रमध्ये कुतियाकबर सबैभन्दा अगाडि आउँछ । नदी नियन्त्रण हुन्छ तटबन्ध निर्माण गरिन्छ भनिएपनि आवश्यकतानुसार तटबन्ध निर्माणको कार्य भएको छैन’, जोशीले भने–‘चार सय मिटर गाउँको पूर्वतिर अवस्थित जोगबुढा नदी अहिले चार सय मिटर पश्चिममा गाउ भित्र कटान गरेर प्रवेश गरेको छ । नदीले भएको जग्गा जमिन पनि कटान गरिदिएपछि स्थानीय नदीको त्रासमा बस्दै आएका छन् ।’
जोगबुढा नदीपारि रहेको कुतियाकबर गाउँसँगै जोडिएर भारतीय सीमा क्षेत्र रहेको छ । गाउँसँगै सीमा क्षेत्र जोडिएको भएकोले पनि यहाँका स्थानीय बाढीसँगै सीमा क्षेत्रको समस्या झेल्दै आएका छन् । सीमा क्षेत्रसँग जोडिएको गाउँ भएकोले भारतीय सुरक्षाकर्मीले समयसमयमा दुख दिने गरेका छन् । कुतियाकबर आवतजावत गर्न जोगबुढा नदीमा एउटै झोलुङ्गे पुल मात्रै छ । गतवर्ष निर्माण गरिएको तटबन्ध पनि झोलुङ्गे पुलसम्म मात्रै गरिएकाले नदी कटानले पुललाई पनि जोखिममा पारेको कुतियाकबरका अर्का स्थानीय मोहन सुनारले बताए ।
‘गतवर्ष निर्माण गरिएको तटबन्ध झोलुङ्गे पुलको फेदसम्म मात्रै निर्माण गरियो, यसले गर्दा स्थानीयको आवतजावत गर्ने एउटै ठाउँपनि नदी कटानको जोखिममा रहेको छ ।’ स्थानीय सुनारले भने, ‘नदी नियन्त्रणको लागि कुतियाकबर क्षेत्रको नदी किनारको सबै क्षेत्रमा तटबन्ध निर्माण गरिनुपर्दछ । तटबन्ध निर्माणपछि मात्रै कुतियाकबर क्षेत्रको भविस्य सुरक्षित हुने अवस्था छ ।’ वर्षायाममको समयमा जोगबुढा नदीमा आएको बाढीले गाउँलाई नै डुबाउने गर्दछ । अरुबेला कुतियाकबर क्षेत्रमा आवतजावत गर्न सहज भएपनि वर्षायामको समयमा भने महिनौ सम्म डुवानले आवतजावत गर्न नसकिने उनले बताए ।
वर्षायाममा नदीमा आएको बाढीले गर्दा स्थानीयको अन्नबाली लगायत मानवीय क्षति पनि गर्ने गरेको छ । अहिलेसम्म नदीका कारण ३०÷४० परिवार विस्थापित भइसकेको जनाइएको छ । कुतियाकबर गाउँ किनारमा तटबन्ध निर्माण गर्नमा राज्यले कन्जुस्याई गरिरहेको सुनारले बताए ।
यस्तै कुतियाकबरका अर्का स्थानीय ऐनबहादुर सुनारले झोलुङ्गे पुल भएपनि आधा भागसम्म मात्रै भएको बताए । ‘वर्षायाममा झोलुङ्गे पुलको पूर्वतिरको भागपनि विगतमा नदीले कटान गरेको र नदी भएको क्षेत्र हो, यसले गर्दा वर्षायाममा झोलुङ्गे पुलबाट आवतजावत गर्न पनि सम्भव हुँदैन ।’ ऐन सुनाले भने, ‘झोलुङ्गे पुल सम्म जान पनि सकिने अवस्था हुदैन, झोलुङ्गे पुल पनि मौसमी भएका कारण स्थानीयलाई निकै सास्ती हुने गरेको छ ।’ वर्षायाममा विद्यार्थीले विद्यालय जाँदा होस् या बिरामीलाई अस्पताल लैजाँदा निकै सास्ती हुने गरेको छ । आवत जावत गर्न झोलुङ्गे पुल भएपनि वर्षायाममा डुङ्गाको सहारा लिनुपर्ने बाध्यता हुने गरेको सुनारले बताए ।