भारतमा कोरोना भाइरसको दोस्रो लहरले भयावह रुपलिएसँगै त्यहाँ रहेका नेपाली फेरि संकटमा परेका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरहरुमा कार्यरत नेपाली फेरि संकटमा परेका हुन् ।
महामारी तीव्र फैलिएको महाराष्ट्रमा रहेका नेपाली सबैभन्दा बढी समस्यामा परेका छन् । संक्रमणका कारण महाराष्ट्रमा लकडाउन समेत गरिएको छ । महामारीका कारण उद्योगधन्दा बन्द भएर रोजगारी गुमाएका नेपाली पारिश्रमिक समेत नपाएर सीमामा रित्तो हात घर फर्किरहेका छन् ।
रोजगारी गुमाउनुको पीडा, कोरोना संक्रमणको जोखिमसँगै सीमामा पुग्नैपनि अनेकन दुखकष्ट भोग्नुपरेको फर्किने नागरिकहरुको दुखेसो छ । सीमानाकामा जोखिम बढेको छ । तर, नाकामा व्यवस्थापन फितलदो हुँदा उनीहरुलाई थप सकस छ ।
कोरोना कहरकै कारण अघिल्लो वर्ष काम छोडेर घर आएका कैलाली गौरीगंगाका निशान विश्वकर्मा संक्रमण कम भएको सुनेपछि परिवारसहित रोजगारीका लागि दुई महिनाअघि पुनः मुम्बइ गए । होटेलमा काम गरिरहेका बेला एकाएक संक्रमण बढेर लकडाउन भएपछि बिचल्लीमा परे ।
यस बिचमा काम गरेको पारिश्रमिक समेत नपाएर साथीसँग ऋण लिएर रातारात घर हिडको उनले बताए । निशान जस्तै रोजगारीका लागि भारतको मुम्बइ, व्याङ्गलोर, पन्जाब लगायतका शहर पुगेका नेपाली विचल्लीका बीच स्वदेश फर्किरहेका छन् ।
महाराष्ट्र लगायतका केही प्रदेशमा लकडाउन भइसकेको छ भने कतिपय राज्यमा अब हुने हल्लाले नेपाली फर्किन थालेका छन् । धनगढीको गौरीफन्टा त्रिनगरनाकाबाट करिब दैनिक एक हजार मानिस आइरहेका छन् ।
जोखिमपूर्ण क्षेत्रबाट मानिस फर्किने क्रम बढेपनि नाकामा स्वास्थ्य जाँचको लागि पर्याप्त स्वास्थ्य सामग्री र जनशक्ति नहुँदा उचित ब्यवस्थापन नभएको स्वास्थ्यकर्मीको गुनासो छ । नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले भने, ‘हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको ब्यवस्था त गरिएको छ । तर पर्याप्त स्वास्थ्य सामग्री र जनशक्ति नहुँदा समस्या भएको छ ।’
फर्किने धेरैजसो परीक्षणबिनै सार्वजनिक यातायात चढेर घर फर्किरहेका छन् । कोरोनाको उच्च जोखिम ठाउँबाट हुलका हुल मानिस नेपाल प्रवेश गरिरहेका छन् । कतिपय नाकाबाट नेपालीसँगै भारतीय नागरिकसमेत नेपाल भित्रिरहेका छन् । नाका व्यवस्थापन प्रभावकारी नहुँदा कोरोनाको दोस्रो लहरको खतरा बढ्दै गएको सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाई छ ।
एक महिनामा ३० हजारभन्दा बढि भित्रिए
धनगढी नजिक रहेको गौरीफन्टा नाकाबाट पछिल्लो एक महिनामा ३० हजारभन्दा बढि नेपालीहरू भित्रिएको नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउदले बताए । गत महिनाको ३ गतेदेखि वैशाख ३ गतेसम्म ८ हजार ८ सय ५६ जनाको मात्र एन्टिजेन विधिबाट कोरोना जाँच गरिएको छ । उनले भने, ‘त्यसमध्ये ६ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये १७ जना बालबालिका रहेको छन्।’
गौरीफन्टा नाकाबाट भित्रिएका थप ६७ जनामा कोरोना पुष्टि हिजो शनिवार कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ सय ११ जनाको नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ६७ जनामा संक्रमण पुष्टि भएको हो । ६० पुरुष र ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतबाट आज ६२५ भित्रिएकोे नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले जानकारी दिए । शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एन्टिजेन विधिबाट गौरीफन्टा नाकामा परीक्षण गरिएको थियो ।
भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेपालीहरू धमाधम स्वदेश फर्किरहेका छन् । गौरीफन्टा नाकामा ३ चैतदेखि एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।