कैलालीको टीकापुर नगरपालिका–१ का ४५ वर्षीय पुरुष आफूमा कोरोना पुष्टि भएपछि वैशाख २३ गते टीकापुर अस्पतालमा भर्ना भए। उनको अक्सिजन लेबल ७०÷७५ हाराहारी थियो। चिकित्सकले उनलाई तुरुन्तै भेन्टिलेटर आवश्यक भएको बताए। अस्पतालमा रहेका ८ थान भेन्टिलेटर एनेस्थेसियोलोजिस्ट र फिजिसियन डाक्टर नहुँदा प्रयोगविहीन छन्। आफन्तले बिरामीलाई कोहलपुर मेडिकल कलेज लैजाने निर्णय गरे। तर, सघन उपचार कक्षबाट बाहिर निकालेर एम्बुलेन्समा राख्ने बेला उनको ज्यान गयो।
‘हामीले भेन्टिलेटर हुँदाहुँदै पनि उपचार पाएनौं। आफन्तलाई अकालमै गुमायौं। अस्पतालमा भेन्टिलेटर टाँगेको छ। तर, त्यसलाई हेरेर बिरामीको मृत्यु भइरहेको छ’, मृतकका भाइ प्रेम शाहले भने, ‘उपचार कक्षमा राखिएका भेन्टिलेटर हेरेर बिरामीले ज्यान गुमाउनु परिरहेको छ।’
धनगढी उपमहानगरपालिका–८ का व्यवसायी नारायण लम्सालको सोमबार काठमाडौंमा उपचारका क्रममा ज्यान गयो। लम्साललाई धनगढीबाट १० लाख खर्च गरेर आफन्तले हवाई एम्बुलेन्सबाट शनिबार काठमाडौं लगेका थिए। ‘उनलाई तुरुन्तै सघन उपचार कक्षमा राख्नुपर्ने अवस्था थियो। सेती प्रादेशिक अस्पतालमा आईसीयू भरिएको थियो’, आफन्त तुलसा लम्सालले भनिन्, ‘अक्सिजनको लेबल घट्न थालेपछि काठमाडौं लग्यौं। तर, जोगाउन सकिएन।’ उनका अनुसार सेती प्रादेशिक अस्पतालमा समयमै अक्सिजन पाएको भए सायद ज्यान जोगिन सक्थ्यो !
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का ४२ वर्षीय पुरुष वैशाख १४ गते भारतको राजधानी दिल्लीबाट घर आए। गड्डाचौकी नाकामा गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ देखियो। उनी घरमै आइसोलेसन बसे। तर, चार–पाँच दिनपछि श्वास–प्रश्वासमा समस्या देखियो। उनी वैशाख २६ गते महाकाली अस्पताल पुगे तर त्यहाँ उनले अक्सिजन पाएनन्।
‘अस्पतालमा अक्सिजन छैन भनियो। बिना अक्सिजन दुई दिनसम्म बसाउनुपर्यो। काठमाडौंबाट अक्सिजनको विद्युतीय मेसिन मगाइयो। त्यसले चाहिने जति अक्सिजन धानेन’, बहिनी शान्ति भट्टले भनिन्, ‘अस्पतालमा अक्सिजन नपाएपछि कम्पनीका मालिकले वैशाख २६ गते उनलाई दिल्लीमा उपचार गर्ने भनेर बोलायो। तर, उनको बाटोमै ज्यान गयो।’ उनका अनुसार सेती अस्पतालमा पनि अक्सिजन छैन भन्यो। धनगढीका निजी अस्पतालमा ठाउँ पाइएन।
सुदूरपश्चिम प्रदेशभरि ९ हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन्। तीमध्ये मंगलबार बेलुकीसम्म ४ सय १ जना मात्रै अस्पताल भर्ना भएका छन्। कोरोना भएका साढे ८ हजार होम आइसोलेसनमा छन्। सेती प्रादेशिक अस्पतालमा संक्रमितको उपचारमा खटिएका वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्मा पौडेलले भने, ‘अस्पतालमा ठाउँ नभएकाले धेरै मानिस घरमै उपचारमा बसिरहेका छन्। मलाई दिनमा सैयौं फोन आउँछन्। घरमै उपचारमा बसिरहेकाहरूलाई औषधी उपचारका लागि सघाउनु परेको छ।’
अस्पतालमा अक्सिजन अभाव भइरहेको, अक्सिजन सकिएर बिरामीको ज्यान गइरहेको र स्वास्थ्यकर्मीले पनि हेरचाह नगरेको गुनासा आउन थालेपछि मानिसहरू अस्पतालमा जान रुचाइरहेका छैनन्। डा. पौडेलको विचारमा सेती र महाकाली जस्ता आईसीयू र भेन्टिलेटर भएका अस्पतालमा बिरामी छानिएर आउनुपर्ने हो। तर, उनले सामान्य अक्सिजनका विरामी पनि आउने गरेकाले गम्भीर बिरामीलाई अझै हेर्न नसकिएको बताए।
‘कोभिड भएकाहरूलाई आइसोलेसन एक ठाउँमा गर्ने, सामान्य लक्षण देखिएका तर अक्सिजन सपोर्ट नचाहिनेलाई एक ठाउँमा उपचार गर्ने, अक्सिजन सपोर्ट, आईसीयू र भेन्टिलेटर चाहिनेलाई मात्रै सेती र महाकाली जस्ता विशेषज्ञा सेवा भएको अस्पतालमा पठाइनुपर्ने हो तर यस्तो कसले गरिदिने ?’ डा. पौडेलले भने।