कोरोना अस्थायी अस्पतालको ६० शयाले संक्रमितको चाप धान्न नसकेपछि धनगढीको सेती प्रादेशिक अस्पतालले सर्जिकल वार्डमा पनि संक्रमित राख्न थालेको छ ।
सर्जिकल वार्डमा ३५ जना संक्रमित राख्न सक्ने व्यवस्था गरिएको छ, तर त्यसले पनि संक्रमितको चाप धान्न सकेको छैन । सेतीमा अहिले एक सय आठजना संक्रमित उपचाररत छन् ।
कोरोनाको लक्षण भएका शंकास्पद बिरामीको चाप उस्तै छ । उपचारका लागि आउने संक्रमित र शंकास्पद बिरामी बढेपछि अस्पलातको बरन्डा, ग्यालरी र बाहिरसमेत राखिएको छ । अस्पतालको पूर्वाधार र जनशक्तिले धान्न नसक्ने गरी चाप बढेको छ ।
संक्रमितको चाप बढ्दा अक्सिजनको माग बढेको छ, तर यसको आपूर्ति भने बढेको छैन । संक्रमितलाई औषधिभन्दा अक्सिजनको बढी खाँचो भए पनि उनीहरूले अक्सिजन पाउन सकेका छैनन् ।
सेतीमा अहिले दैनिक दुई सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तर, मुस्किलले एक सय २० वटा सिलिन्डर आपूर्ति भइरहेको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
आइसियू र भेन्टिलेटरमा भर्ना भएका बिरामीलाईसमेत अक्सिजन पु¥याउन अस्पताललाई हम्मेहम्मे परेको छ । संक्रमित र शंकास्पद सबैजसो बिरामीलाई अक्सिजन आवश्यक पर्ने गरेको चिकित्सकले बताएका छन् ।
सेतीको प्लान्टमा दैनिक ५०–६० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । केही सिलिन्डर अक्सिजन धनगढीको मालिका अक्सिजन ग्यास उद्योग र नेपालगन्जबाट आउने गर्छ ।
कतिपय संघसंस्थाले पनि अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने गरेका छन् । यसले पनि अस्पतालको माग धान्न सकेको छैन । अक्सिजन सकिएपछि थप आपूर्ति नहुन्जेल उपचाररत बिरामीले अक्सिजनको पर्खाइमा बस्नुपर्ने अवस्था छ ।
‘अक्सिजन सकिएपछि थप नआउन्जेलसम्म बिरामीले अक्सिजन सपोर्टविनै बस्नुपर्छ ।’ सूचना अधिकारी श्रेष्ठले भने, ‘माग र आपूर्तिमा सन्तुलन नहुँदा समस्या भएको छ ।’
बिरामीको अवस्थाअनुसार अक्सिजन वितरणलाई प्राथमिकता दिने गरेकाले अक्सिजन नपाएर बिरामीको मृत्यु भएको अवस्था अहिलेसम्म नआएको उनको दाबी छ । संक्रमितको मृत्यु हुनुको मुख्य कारण नै समयमा अस्पताल नल्याइपु¥याउनु हो ।
सेतीमा जस्तै यहाँका अन्य अस्पतालमा पनि अक्सिजनको चरम अभाव छ । अक्सिन नहुँदा कतिपय निजी अस्पतालले कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् ।
कतिपयले भर्ना भएका बिरामीलाई पनि रिफर गर्न थालेका छन् । अक्सिजन अभावले निजी अस्पतालमा पनि उपचार पाउने अवस्था आएपछि सरकारी अस्पतालमा संक्रमितको चाप बढेको हो ।
कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले अक्सिजन नहुँदा भर्ना हुन आउने संक्रमितलाई फिर्ता गर्नुपर्ने अवस्था आएको बताए । भर्ना भएका संक्रमितलाई समेत अक्सिजन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।
अक्सिजन सकिएपछि कतिपय निजी अस्पतालले उपचाररत संक्रमितलाई पनि रिफर गर्न थालेका छन् । धनगढीकै मायामेट्रो अस्पतालका सञ्चालक धीरेन्द्र साउदले उपरचाररतले समेत अक्सिजन नपाएका वेला थप बिरामी भर्ना गर्न नसकिने बताए ।
कतिपय संक्रमित बेड नपाएर पनि आउने गरेकाले भर्नाअघि ‘अक्सिजन दिन सक्दैनौँ भनेर, आफँै जोहो गर्नू’ भनी जानकारी दिने गरेको उनले बताए ।