सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीकै गाउँपालिकामा कोरोनाको रिपोर्ट नआउँदा मृत्यु भएका युवकको दुई दिनदेखि शव क्वारेन्टाईनमा
 
korona

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको डोटीको केआईसिंह गाउँपालिकाको क्वारेन्टाईनमा मृत्यु भएका एक जना युवकको शव कोरोनाको रिपोर्ट नआउँदा दुई दिनदेखि क्वारेन्टाईनमै रहेको छ । मृत्यु भएको दुई दिन हुँदा पनि पीसीआर रिपोर्ट नआउँदा परिवारका सदस्यहरुले शव उठाउन सकेका छैनन् । 

आइतबार बिहान ३ बजे केआई सिंह गाउँपालिकाको वडा नम्बर ३ स्थित सिताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा मृत्यु भएका १९ वर्षीय  नरेश ऐरको कोरोना रिपोर्ट नआएका कारण दाहसंस्कार हुन सकेको छैन । उनको शव दुई दिनदखि क्वारेन्टाईनमा अलपत्र छ । क्वारेन्टाईमा उनीसंगै रहेका ९ जना आईतबार बिहानदेखि विद्यालयको अर्को कोठामा सारिएका छन् । 

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा शनिबार बेलुका ६ बजे नै मृतक र उनीसँगै बसेका अन्य ९ जनाको स्वाब संकलन गरी पठाईएको थियो । तर कसैको रिपोर्ट पनि अहिलेसम्म आएको छैन । रिपोर्ट नआउँदा स्थानीय बासिन्दा र क्वारेन्टाईनमा रहेका अन्य व्यक्तीहरु निकै आतंकित भएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भने रिपोर्ट आउन ढिलाई हुने भएकोले केही व्यक्ती मिलेर शवको दाहसंस्कार गर्न निर्देशन दिएको स्थानीयले बताएका छन् ।
डाक्टर अवस्थीले दाहसंस्कारमा जाने व्यक्तीहरुलाई समेत क्वारेन्टाईनमा राख्न सुझाव दिएका छन् । तर स्थानीय बासिन्दाले भने कोरोनाको रिपार्ट नआई दाहसंस्कार गर्न तयार छैनन । गर्मीका कारण लाश गन्हाउन थालेको छ । क्वारेन्टाईनको वरिपरी समेत दुर्गन्ध फैलिरहेको छ । केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले दाहसंस्कारका लागि नेपाली सेना तयारीमा रहे पनि रिपोर्ट नआउन दाहसंस्कार गर्न नसकिएको बताए ।

डोटीको परीक्षणका लागि धनगढी स्थित प्रयोगशालमा पठाईएको स्वावको नतिजाको पखाईमा रहेका स्थानीय बासिन्दाले यथाशिघ्र रिपोर्ट दिन आग्रह गरेका छन् । भारतको दिल्लीबाट २० गते आएका स्थानीय १९ वर्षीय  ऐर त्यही दिनदेखि क्वारेन्टाईमा बस्दै आएका थिए । शनिवार अपरान्ह ४ बजे बेहोस भएर ढलेका ऐरको केही समयपछि होस खुलेपनि आईतवार बिहान ३ बजे मृत्यु भएको थियो ।

ऐरलाई बिसञ्चो भएको थाह पाएपछि उनका बुवा शनिवार साँझदेखि हेरचाह र स्याहारका लागि क्वारेन्टाईनमा बस्न थालेका थिए । ऐरको मृत्युपछि उनका बुवा पनि क्वारेन्टाईनमा बस्न थालेका छन् । मृतक ऐरको कोरोनाको रिपोर्ट सोमबार साँझसम्म आउने धनगढी स्थित प्रयोगशालाले  जनाएको छ ।