हत्या अनुसन्धानमा सफलता: कैलालीका सई सुशील चन्दसहित ४ प्रहरी कर्मचारी पुरस्कृत
 
Ggg

कैलालीमा हत्या गरेर शव फालिएको घटनाको सफल अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेका चार जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा प्रहरी नायब निरीक्षक (सई) सुशील चन्द, प्रहरी सहायक हवल्दार महेशबहादुर चन्द, सन्तोष महरा तथा प्रहरी जवान हर्कबहादुर बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको जनाएको छ।

कैलारी गाउँपालिका–९ का राजकुमार रानाको शव गत जेठ २४ गते त्रिवेणी घाट क्षेत्रमा फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा ती प्रहरी कर्मचारीहरूले तथ्य र प्रमाण संकलनदेखि अभियुक्त पहिचानसम्म महत्वपूर्ण भूमिका खेलेका कारण पुरस्कृत गरिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिना का अनुसार प्रारम्भिक अनुसन्धानबाट राजकुमार रानामाथि कुटपिटपछि हत्या गरी शव मोहना नदी किनारमा फालिएको खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका–८ निवासी ६० वर्षीय बम्मन राना, ५८ वर्षीया भँगु राना र उनीहरूकी छोरी गीता रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेका छन्। फरार व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनाको सफल अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई सम्मान गर्दै प्रहरीले आगामी दिनमा पनि अपराध अनुसन्धानलाई थप प्रभावकारी र नतिजामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।