अवरुद्ध महाकाली राजमार्ग खुल्यो
2021/06/20, 4:40
 
dd

छुट्टाछुट्टै दुई ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा  आएको छ।  राजमार्गको बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका ३ धरमघर र दोगडाकेदार गाउँपालिका ५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। 

धरमघरमा आइतबार दिउँसो १ बजे र ढिकगाडमा बिहान साढे ८ बजेदेखि सडक  सञ्चालनमा आएको  अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए। पहिरोले  ढिकगाडमा राति १ बजेदेखि र धरमघरमा बिहान ८ बजेदेखि  सडक अवरुद्ध भएको थियो। उनले भने,‘जेसिबीको सहयताले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको  छ।’ 

अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएपछि सवारी साधन खुलेका छन् भने यात्रुहरु आ- आफ्नो गन्तव्यतर्फ लागेका छन्।अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकोले ती स्थानहरुहरुमा अझै पहिरोको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए। उनले भने,‘पानी निरन्तर रुपमा लागेकोले पहिरो जाने सम्भावना कायमै छ, हामीले जेसिबी तयारी अवस्थामा राखेका छौं।’

यसअघि शनिबार अपरान्ह पनि धरमघरमा  पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकोमा करिब २ घण्टापछि बेलुका साढे ५ बजे खुलेको थियो। केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग र ग्रामीण सडकहरु अवरुद्ध भइरहेका छन्।