कैलालीमा एक साता पुन निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज सोमबार सकिँदै छ । सोमबार दिउँसो जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकबाट एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
अव थप हुने निषेधाज्ञा थप खुकुलो हुने जनाइएको छ । पसलहरू खोल्ने समय थप गर्ने, अति आवश्यक कार्यालय खोल्न दिने र अन्य कार्यालयको हकमा पनि स्वास्थ्य मापदण्ड अनुसार सुरु गर्ने दिने बिषयमा बैठकमा छलफल हुने बताइएको छ ।
निजी सवारी साधनलाई जोरबिजोर प्रणाली लगाएर सुरु गर्न दिने बिषयमा पनि बैठकमा छलफल हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । कैलालीमा निषेधाज्ञा थप गर्ने र स्वरूप परिवर्तन हुने उनले बताए ।
‘निजी सवारीमा जोरबिजोर लगाउनले वा नलगाउने भन्ने बिषयमा बैठकले नै निर्णय गर्ने छ ।’ उनले भने ‘यो बिषयमा पनि बैठकमा छलफल भने हुनेछ ।’ पछिल्लो समय कोरोनाको संक्रमण केहि कम भइरहेको हुँदा निषेधाज्ञाको स्वरूप परिवर्तन गर्न खोजिएको उनले बताए । यो अवस्थामा पुनः संक्रमण बढ्ने देखिएमा तत्काल कडा निषेधाज्ञा हुने समेत जानकारी दिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अझै पनि कोरोना महामारीको संक्रमण कायमै रहेको भन्दै निषेधाज्ञा पुनः थप गर्ने तयारीमा रहेको बताए। यातायात, सभा सम्मेलन, होटल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइने प्रजिअ रिजालले जानकारी दिए। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले भने निर्णय गर्न बाँकी रहेको र आदेश पनि जारी गर्न बाँकी रहेको प्रजिअ रिजालले जनाए।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएको हो।