महाकाली बाढी प्रभावितलाई छाक टार्नै मुस्किल
2021/06/21, 10:49
 
da

भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसीले ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक बितेको छ। यतिका समयसम्म महाकालीको बाढीले बस्ती कहिल्यै डुबानमा परेन। तर, यस वर्ष भने वर्षातको सरु मै छिमेकीसहित उनको घर डुबानमा परेको छ।

‘योभन्दा पहिले हाम्रो बस्तीमा बाढी आउँदैनथ्यो। चार लेनको सडक बनाउने क्रममा महाकाली नदीमा जथाभावी बाँध बाँधेकाले हाम्रो बिचल्ली भयो,’ उनले भनिन्, ‘तीन दिनदेखि त्रिपालमा बसिरहेका छौं।’

बस्ती पूरै डुवान हुँदा पनि सहयोगका लागि कोही नआएको केसीले दुःखेसो पोखिन्। एरीघाटकै जयसिंह चैसिरलाई पनि कहाँ बस्ने, के खाने भन्ने चिन्ताले सताएको छ। ‘दिनभरि मजदुरी गरेर साँझ–बिहान हातमुख जोर्ने जोहो मिलाएका थियौं। सबै बाढीले बगाएर लग्यो,’ चैसिरले भने, ‘अब के खाने र कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ।’ चुनावका बेला भोट माग्न सबैजना आउने भए पनि अहिले कसैले पनि वास्ता नगरेको उनको भनाइ रहेको छ।
 
महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोलाको निकास बन्द भएर महाकालीको बाढी गाउँ पसेको हो। ऐरीघाटका २० घरभित्र दुई फिट पानी जमेपछि त्यहाँका बाढीपीडितहरु अर्काको घरमा शरण लिएर बस्दै आएका छन्। कतिपय बाढीपीडित त्रिपालमुनि बस्न बाध्य छन्। जोखिम अवस्थामा रहेका केही परिवारलाई वडा कार्यालय र नजिकको विद्यालयमा राखिएको छ। पानीको सतह घटन थालेपछि केही परिवार घर फर्कन समेत थालेका छन्।

‘घरभित्र बाढी पस्यो खाद्यान्न तथा लत्ताकपडा सबै बगाएर लग्यो। बालबच्चदेखि सपरिवार हिजोदेखि भोकै छौं,’ अर्का बाढीपीडित प्रमोद भट्टले भने, ‘भुजेला खोलाको पानीको निकास नखोजिए यसवर्ष हाम्रो उठिबास हुन्छ।’ असार पहिलो साता नै बाढीले यति दुःख दिएकोमा सबै गाउँले चिन्तित भएका छन्। महाकाली नदीमै बालुवा गिट्टी चालेर जीविका चलाउँदै आएका तौला रानाको समेत बाढीको पानीले घरभित्र राखेको सबै खाद्य बस्तु भिजाएको छ। नदीमा पानी बढेपछि सुत्न नसकेको उनी बताउँछन्।

‘नदीमा यसअघि पनि ठूलठूलो बाढी नआएको हैन। पानी यसरी कहिल्यै पनि बस्तीमा छिरेको थिएन‚’ उनले भने, ‘यो वर्षको सुरुमै पुरै बस्ती डुबानमा प¥यो। पूरै वर्षातको समय बाँकीनै छ। परिवारको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।’  झोपडीमा पुरै पानी पसेकाले त्रिपालमुनि बस्नु परेको उनले बताए। पहाडी क्षेत्रमा वर्षा हुने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो अबस्थामा रहेको छ।

नदीको पानी घटे पनि डुबानमा परेका परिवारको सबै खाद्यान्न भिजेर कामै नलाग्ने अबस्थमा रहेकाले उनीहरुलाई साँझ विहानको छाक टार्नका लागि अप्ठेरो परेको छ। वडा र नगरपालिका कार्यालयबाट कोही पनि राहत लिएर नपुगेको डुवानपीडित परिवारको गुनासो रहेको छ।