डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको शव पोष्टमार्टम गरिएको छ । असार ५ गते मृत अवस्थामा फेला परेकी धामीको तीन दिनपछि उनको शव जोगबुडा अस्पतालमा परीक्षण गरिएको हो । पोष्टमार्टम रिर्पोटमा उनको बलात्कार भएको भन्ने विषयमा कुनै तथ्य फेला नपरेको उच्च पदस्थ प्रहरी अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार अब धामीको भिसेरा परीक्षण गरिनेछ ।
धामीको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो । असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको थियो ।
शवसँगै उनले बोकेको खोपको क्यारियर भेटिएको थियो तर मोबाइल भने नपाईएको प्रहरीले जनाएको छ । शरिरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारे लगेको जस्तो देखिएको भन्दै हत्या गरिएको स्थानीयले बताइरहेका छन् । यद्यपि उनको पोष्टमार्टम रिर्पोटले बलात्कार र हत्या भएको कुनै तथ्य फेला पार्न नसकेको प्रहरी अधिकारीले बताईरहँदा घटनाको अनुसन्धान भने जारी रहेको छ । प्रहरीले आफ्नो अनुसन्धान जारी रहेको भन्दै घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली परिचालन गरिएकको जानकारी दिएको छ ।
यसैबीच स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको न्यायको माग्दै आफन्त आन्दोलित भएका छन् । आज मृतकका आफन्तले धामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन । उनीहरुले नगरप्रमुख भीमबहादुर साउँदलाई ६ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् ।