डडेल्धुरामा महिला मृत फेला प्रकरणः आफन्तले शव बुझे, मोबाइल फेला
2021/06/22, 12:58
 
bb

असार ५ गते मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको शव आफन्तले वुझेका छन् । सोमबार अस्मिताको शव परीक्षण भएपछि आफन्तले बुझेका हुन् ।

उनको शव बुझेपछि मंगलबार अन्तेष्टि भएको वडा नम्बर ८ का वडाध्यक्ष गोविन्द बोहराले बताए । शव परीक्षणबाट बलात्कार तथा हत्या भएको कुनै तथ्य फेला नपरेपछि नमूनाहरु भिसेरा परीक्षणका लागि पठाइएको छ । 

यस्तै अस्मिता धामीको मोबाइल पनि फेला परेको छ । शव भेटिएको स्थानबाट एक सय मिटर तल मोबाईल फेला परेको घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए । उनले त्यो बाहेक घटनासँग सम्बन्धित अन्य कुनै ठोस प्रमाण हालसम्म फेला नपरेको समेत बताए । घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाईरहेको ती प्रहरी अधिकारीले बताए । 

अस्मिताको धामीको शव असार ५ गते परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको थियो ।

 शवसँगै उनले बोकेको खोपको क्यारियर भेटिएको थियो तर मोबाइल भने फेला परेको थिएन । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटिएको छ ।