कञ्चनपुरका नौ वटै स्थानीय तहले ल्याए बजेट
2021/06/25, 10:00
 
dd

कञ्चनपुरका नौ वटै स्थानीय तहले आगामी आर्थिक  बर्ष ०७८÷०७९ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका छन । जिल्लाका दुई गाँउपालिका सहित सात नगरपालिकाले आगामी आर्थिक बर्षको योजना ल्याएका हुन ।

बुधबार शुक्लाफाँटा नगरपालिका र दोधाराचाँदनी नगरपालिले नीति कार्यक्रम तथा बजेट ल्याएका थिए । बिहीबार पूनर्वास नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, लालझाडी गाउँपालिका ,बेलडाँडी गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन ।

जिल्लाका सबै स्थानीय सरकारले आगामी बर्षमा कोरोना रोकथाम एव नियन्त्रणका लागि स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा राखेका छन् ।  स्वास्थ्यका लागि कृषि, शिक्षा, लघु उद्यम, स्वरोजगार, पूर्वाधार विकास, उद्यम लगायतका विगतका योजनालाई समेत निरन्तरता दिदै आ–आफ्नो पालिका सम्बृद्धिको योजना अघि सारेका छन ।

पुनर्वास नगरपालिकाले ६९ करोड २९ लाख बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०७८-०७९ का लागि नगरपालिकाले ६९ करोड २९ लाख १ हजार रुपैयाँकोको अनुमानित बजेट ल्याएको हो । बिहीबार पूनर्वासको ९ औँ नगर सभामा उप प्रमुख शारदा विष्टले बजेट र प्रमुख जिवनराज थापाले नीति, तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन पूर्वाधार विकास, कृषि, उद्यमका योजना अघि सारिएका छन ।

यस्तै  बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८-०७९ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । बिहीबार सातौँ नगर सभामा नगर उप प्रमुख चित्र कुमार चौधरीले ८१ करोड ७० बजेट र प्रमुख पोतिलाल चौधरीले नीति, तथा कार्यक्रम प्रस्तुत गरेका छन । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर चौधरीले नगरको सम्बृद्धि एकिकृत दिगो विकासका लागि योजना अघि सारिएको बताए । मेयर चौधरीका अनुसार आगामी आर्थिक बर्ष स्वाथ्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै कृषि, पर्यटन, पूर्वाधार विकास, सीमा, उद्योग, उद्यमी, वातावरण क्षेत्रलाई समेत प्राथमिता राखिएको छ ।

यस्तै कृष्णपुर नगरपालिकाले  आगामी आर्थिक बर्ष २०७८-७९ को निती कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम सहित  बिहीबार नगरपालिकाको  नवौं  नगरसभा मार्फत नगरपालिकाकी  उपम्रमुख रमिता राना बडायकले  ९२ करोड ५६ लाख ४२ हजारको बजेट प्रस्तुत प्रस्तुत गरिन्  । नगरपालिकाको नवौं नगरसभाबाट घोषणा भएको बजेटमा नगरपालिकाले स्वास्थ्य,शिक्षा,उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ।

उता भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि  एक अर्ब ५९ करोडको बजेट नगरसभामा प्रस्ताव गरेको छ। ‘सन्तुलित वातावरण, सुशासनसहितको समाजवादउन्मुख नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ भन्ने नारासहित आज शुरु भएको नवौँ नगरसभामा नगर उपप्रमुख सुशीला चन्दले आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेश गरेकी हुन् । नगरपालिकाले कोेरोना महामारी नियन्त्रण, रोकथाम सहित शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।

वेदकोट नगरपालिकाले पनि आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि ८३ करोड ९२ लाख ३३ हजारको बजेट ल्याएको छ । नगरपालिकाले  उच्च शिक्षा हासिल गर्ने जेहेन्दार विद्यार्थीको लागि ५५ लाख बजेट विनियोजन गरेको छ ।नगर क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने सक्ने जनशक्ति धेरै रहेकोले उच्च शिक्षा हासिल गर्न चाहेका तर शिक्षा हासिल गर्न नपाएका दलित, आलिवासी जनजाती, अपाङ्ग, विपन्न तथा गरिब लगायत जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गराउनको लागि नगरको नगरसभाले छात्रवृत्ति कार्यक्रम ल्याएको  नगर प्रमुख अशोक कुमार चन्दले बताए । यस्तै नगरपालिकाले नगर अस्पताल निमार्ण, कोल्ड स्टोर निमार्ण, कालोपत्रे सडक निमार्ण, पर्यटन पूर्वाधार,बसपार्क निमार्ण, फोहोर मैला व्यवस्थापन केन्द्र, अक्सिजन पलान्ट निमार्ण लगायत विभिन्न महत्वपूर्ण विषयमा बजेट विनियोजित गरिएको छ ।

यस्तै जिल्लाको दोधारा-चाँदनी नगरपालिकाले सातौँ नगर सभा मार्फत अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ। नगरपालिकाले आगमी आर्थिक वर्षका लागि ६२ करोड १५ लाख १३ हजार बजेट ल्याएको छ ।  नगरपालिकाले अगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ।

शुक्लाफाँटा नगरपालिकाको नवौं नगर सभाले आउदो आर्थिक बर्ष २०७८-०७९ का लागि रु ७१ करोड ४८ लाख ३ हजारको बजेट निर्णयकालागी नगरसभामा पेश गरिएको छ । नगरपालिकाले अगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ।

यस्तै लालझाडी गाँउपालिकाले आगामी आर्थिक बर्ष २०७८-०७९ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । बिहीबार ९ औँ गाँउ सभामा उपप्रमुख सत्यादेवी महराले प्रस्तुत गरेको ४७ करोड ५० लाख एक हजार ५ सय अनुमानित बजेट र गाँउ प्रमुख मदनसेन बडायकले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा योजना पारित भएका हुन् । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि मुख्य गरेर स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, तटबन्ध, स्वरोजगारमा प्राथमिकता दिएको जनाएको छ ।

बेलडाँडी गाँउपालिकाले पनि आगामी आर्थिक बर्ष २०७८-०७९को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।  बेलडाँडी गाँउपालिकाको ९ औँ गाँउ सभाबाट अनुमानित ३८ करोड ९१ लाख बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।  गाँउपालिकाले आगामी बर्षमा स्वाथ्य, शिक्षा, कृषि, किसानलाई लालपुर्जा दिने, खानेपानी, भौतिक पूर्वाधार, सीमा सुरक्षा एव रोजगारीका कार्यक्रम प्राथमिकतामा राखेर पारित गरिएका छ । कोरोना रोकथाम एव कृषिमा आधुनिकीकरण, भूमिहिन नागरिकलाई लालपुर्जा वितरणका नयाँ योजना अघि सारेको छ ।