बझाङको थलि ज्यूलामा रोपाई सुरु
2021/06/25, 3:36
 
dd

बझाङको छविस पाथिभेरा गाउँपालिका–६ थलि ज्यूलामा रोपाई सुरु भएको छ। थलि ज्यूलामा एकै दिन रोपाई र एकैदिन धान काट्न सुरु गर्ने चलन पुस्तौदेखि चल्दै आएको छ।

त्यहाँ झण्डै १ सय परिवार पुजारा र अन्य जप्रेल, थापा, रोकाया, बुढा, चलाउने र सिंहको बसोबास रहेको छ। पुजाराहरुले रोपाई सुरु नगरेसम्म कसैलेपनि रोपाई सुरु नगर्ने चलन त्यहाँ छ। 

जुन दिन पुजाराले रोपाई सुरु गर्छन्, त्यही दिन अन्य जातीले पनि सुरु गर्ने र सोही निमय धान काट्ने बेला पनि लागु गर्ने चलन रहेको स्थानीय हृदय पुजाराले बताए। सबैले नुहाईधुवाई गरी शुद्ध भएर मात्रै रोपाई सुरु गर्ने चलन रहेको उनले बताए। 

रोपाई सकिएको दिन त थलि ज्यूला मेला नै लाग्ने गरेको छ। मेलामा साविकको सैनपसेला र लेकगाउँका बासीन्दाबीच मैलडो (खेतमा मै हाल्दा प्रयोग हुने डोरी) तानातान हुने गरेको छ।