सुदूरपश्चिम प्रदेशमा झण्डै ४६ प्रतिशत रोपाई सकियो
2021/06/27, 3:42
 
dd

सुदूरपश्चिम प्रदेशमा झण्डै ४६ प्रतिशत रोपाई सम्पन्न भएको छ । प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको सुदुरपश्चिम कृषि निर्देशनालयका अनुसार प्रदेशभरी झण्डै ४६ प्रतिशत रोपाई सम्पन्न भएको हो । सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले यस वर्ष नियमित वर्षा भएका कारण छिटो रोपाई सुरु भएको बताए । ‘यसरी नै पानी परे धान उत्पादनमा समेत बृद्धि हुन्छ ।’ उनले भने । 

सुदूरपश्चिम प्रदेशको ८६ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । समयमै मनसुन भित्रिएपछि असारको दोस्रो सातासम्म ८५ हजार ३ सय ६८ हेक्टर क्षेत्रफलमा रोपाई भएको हो । सुदुरपश्चिमको ९ जिल्लामा एक लाख ८५ हजार ८ सय ४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसको ४५ दशमलब ९३ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ ।

अघिल्लो बर्षको असारको दोस्रो सातासम्म २२ प्रतिशत मात्रै रोपाई भएको थियो । यसपाली समयमै पानी परेपछि किसानहरुलाई राहत भएको छ । आकासे पानीको भरमा रोपाई हुने ठाउँहरुमा पनि रोपाई भएको छ ।’ कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने–‘यसपाली चाडो रोपाई सुरु भएकोले पनि सहज भएको हो । सिंचाई सुविधा पनि विस्तार भएकोले किसानहरुलाई आकासे पानीको भर पर्नुपर्ने खेत पनि कम हुदै गएको छ ।’
 
प्रदेशका ९ जिल्लामध्ये सवैभन्दा कम रोपाई भने धानका लागि उर्वरभुमी मानिने कञ्चनपुरमा भएको छ । कञ्चनपुरमा सवैभन्दा कम ३५ प्रतिशत मात्रै रोपाई भएको छ । कञ्चनपुरमा ४८ हजार ४७५ हेक्टर क्षेत्रफलमा धानखेती हुदै आएकोमा अहिलेसम्म १६ हजार ९ सय ६६ हेक्टरमा रोपाई सकिएको हो । सबैभन्दा बढी रोपाई दार्चुलामा भएको छ । ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा त्यहाँ दुई हजार दुई सय ४० हेक्टर क्षेत्रफलमा रोपाई भएको हो । 

निर्देशनालयका अनुसार अहिलेसम्म कैलालीमा ३८ हजार ७ सय ८६ हेक्टर (५५ प्रतिशत), अछाममा सात हजार ४ सय ६५ दशमलव ५ (४५ प्रतिशत), बाजुरामा तीन हजार ९ सय ४६ (५५ प्रतिशत), बझाङमा पाँच हजार ७ सय १६ दशमलव ८ (४५ प्रतिशत), बैतडीमा चार हजार ५० (४५ प्रतिशत) हेक्टरमा रोपाई सकिएको छ । डडेल्धुरामा तीन हजार ७१२ दशमलव ८ (६० प्रतिशत), डोटीमा चार हजार ५ सय (४२ प्रतिशत) रोपाइँ सकिएको छ ।

प्रदेशको कैलालीमा ७० हजार ५२०, कञ्चनपुरमा ४८ हजार ४७५, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १५०, बझाङमा १२ हजार ७०४, बैतडीमा नौ हजार, दार्चुलामा चार हजार ४८० हेक्टरमा धान खेती हुने गरेको छ । यसैगरी, डडेल्धुरामा ६ हजार १८८ र डोटीमा १० हजार ७१५ हेक्टर गरी धान खेती हुने गरेको स निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले जानकारी दिए । प्रदेशमा धानको औषत वार्षिक उत्पादन ६ लाख ४८ हजार मेट्रिक टन रहेको छ । प्रतिहेक्टर उत्पाकत्व ३ दशमलब ३ देखि ३ दशमलब ५ प्रतिशतसम्म रहेको छ ।

यसपाली मनसुन चाँडो भित्रिएका कारण रोपाई पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । धान खेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन वड्ने निर्देशक जोशीको भनाई छ ।