भीरबाट लडेर बेपत्ता भएका दुर्गाथली गाउँपालिका–३, रकैलका मानबहादुर बोहराको शव दस दिनपछि फेला परेको छ । असार ३ गते लडेर बेपत्ता भएका धामीको शव शनिबार साँझ स्थानीयले फेला पारेका हुन् ।
जेठाबुबाको मलामी गएर फर्कँदै गर्दा उनी धौलावन भीरबाट लडेर बेपत्ता भएका थिए । नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीको टोली एक हप्तासम्म खोज्दा पनि शव नभेटिएपछि खोजी कार्य बन्द गरेको थियो । यद्यपि स्थानीयले भने उनको खोजी गर्न छोडेका थिएनन् ।
स्थानीयले खोजी गर्ने क्रममा उनी लडेको स्थानभन्दा चार सय मिटर तल डोजरले खनेको माटोको थुप्रोमा पुरिएको अवस्थामा शव फेला परेको स्थानीय तुलाराज धामीले बताए । उक्त ठाउँमा झिँगा भन्केको आधारमा अनुमान गरी खन्दा धामीको शव भेटिएको उनले बताए । धामीको शवको पोस्टमार्टमपछि आइतबार आफन्तको जिम्मा लगाइएको बझाङ जिल्लाका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बताए ।
११ जना परिवारको अभिभावक रहेका धामीको निधनपछि परिवारको भने बिचल्ली भएको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न आर्थिक अवस्थाको धामीको परिवार उनकै कमाइको भरमा गुजरा गर्दै आएको थियो । धामीको निधन पछि उनका परिवारलाई खान लाउनको समस्या भएको उनका आफन्त सुशिला धामीले बताइन् ।