सेयर बजारमा सामान्य सुधार
2021/06/28, 11:47
 
aa

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा सुधार आएको छ । गत साताभर १ सय २५ अंकले घटेको सूचकमा यस साताको पहिलो दिन भने बजारले साकारात्मक लय समाएको हो ।

आइतबार २ सय २७ कम्पनीको ७८ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रूपैयाँ बराबरको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता सेयर कारोबार भएका छन् । यस दिन सूचक मात्र नभएर कारोबार रकमसमेत गत साताको अन्तिम कारोबारको तुलनामा सामान्य बढेको छ । नेप्से सूचक २७ दशमलव ३८ अंकले बढेर २ हजार ८ सय ७० दशमलव ३८ को विन्दुमा आइपुगेको छ । 

३ हजारको विन्दुपार गरिसकेको बजार धितोपत्र बोर्डले विज्ञप्ति सार्वजनिक गरे यता घट्न सुरु गरेको थियो । आइतबारको बजारमा भने प्यानिक सेल कम हँुदै बजार सम्हालिनेतर्फ अघि बढेको देखिन्छ । साउन लागेपछि सूचीकृत कम्पनीहरूको वार्षिक वित्तीय विवरण आउने, लाभांश घोषणा र साधारण सभा बस्ने समय सुरु हुने हुँदा यतिबेला सेयर किन्नेले निकै समयमा लाभांशको हकदार बन्न सक्ने भएकाले यस बेला लगानीकर्ताले सेयर कारोबार गर्ने समय हो र यो सयम सेयर सिजन भनेर पनि भन्ने गरिन्छ । त्यसकारण अब बजार आफ्नो लयमा लगानीकर्ताको विश्वास रहेको छ ।

यस दिन बजारमा आइतबारदेखि राष्ट्रिय प्रणालीमा जोडिएको माथिल्लो तामाकोसीको सेयर मूल्य चम्किएको छ । अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि माथिल्लो तामाकोसी र सेन्चुरी कमर्सियल बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्ेका छन् ।

नेसनल हाइड्रोपावरको सर्वाधिक ४० करोड ७० लाख रूपैयाँको सेयर कारोबार हुँदा सेन्चुरी कमर्सियल बैंकको ३७ करोड ८३ लाख रूपैयाँ, नेपाल पुनर्बिमाको ३४ करोड १८ लाख रूपैयाँ, एचआईडीसीएलको २५ करोड ८८ लाख रूपैयाँ र नेपाल इन्स्योरेन्सको २२ करोड ८० लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये पाँचवटा उपसमूह घट्दा आठवटा उपसमूह बढेका छन् । जलविद्युत् समूह सर्वाधिक ७६ अंकले बढ्दा व्यापार समूह ४७ अंक, बंैकिङ समूह ३८ अंक र उत्पादन समूह २८ अंकले बढेको छ । विकास बैंक ५९ अंक, होटल तथा पर्यटन ४२, निर्जीवन बिमा समूह ४० र फाइनान्स समूह ३९ अंकले घटेका छन् ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ७६ अंकले बढेर ५२९ दशमलव ४१ को विन्दुमा आइपुगेको छ ।