कञ्चनपुर घर भएका प्रहरी जवान तीन साता देखि बेपत्ता
2021/07/07, 5:56
 
aa

उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

कञ्चनपुरको बेदकोट नगरपालिका–२ घर भएका प्रहरी जवान कुँवर घर बिदाबाट फर्किएर कार्यक्षेत्रमा सामागाउँ जान भनि हिँडेको भएपनि अहिलेसम्म कार्यक्षेत्रमा नपुगेको र सम्पर्कमा पनि नआएको उनले बताए । कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म पुगेको भन्ने सूचना प्राप्त भएको भए पनि त्यहाँबाट कहाँ गए भन्ने बारेमा खुल्न नसकेको एसपी खनालले बताए ।

सम्पर्कविहीन भएका प्रहरी जवान कुँवरको खोजी कार्य तीव्र पारेको उनको भनाइ छ । ‘इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली नै परिचालन गरेर खोजीकार्य भइरहेको छ’, एसपी खनालले भने, ‘अहिलेसम्म फेला पार्न सकिएको छैन ।’