सुदूरपश्चिम प्रदेश सरकारको बजेटः सडकमा बजेट बृद्धि, लक्ष्य कम
2021/07/08, 9:35
 
dd

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक तथा पुल निर्माण गर्नका लागि बजेट बृद्धि गरेको छ ।आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि चालू आर्थिक वर्ष २०७७/०७८ भन्दा सडकमा ९३ करोड ९६ लाख २५ हजार रुपैयाँ बढि विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा सडक तथा पुलहरू निर्माणका लागि प्रदेश सरकारले चार अर्ब १६ करोड ३५ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षको बजेटमा पाँच अर्ब १० करोड ३१ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यो भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि विनियोजन गरिएकोको कुल बजेटको आधा हो । भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि आगामी आर्थिक वर्षको कुल बजेट ११ अर्ब ७५ करोड ८३ लाख ८१ हजार रुपैयाँ रहेको छ । प्रदेशका ६ वटा पुर्वाधार विकास कार्यालयहरूले खर्च गर्ने गरी विनियोजित पाँच अर्ब १९ करोड आठ लाख ९१ हजार रुपैयाँमध्ये पाँच अर्ब १३ करोड ३१ लाख ८० हजार रुपैयाँ पुजिगत खर्चका लागि छुट्याइएको छ ।

यद्दपि, चालू आर्थिक वर्ष भन्दा सडक कालोपत्रे गर्ने र ग्राभेल गर्ने लक्ष्य भने घटाइएको छ । माटेसडक बनाउने, सडकपुल, झोलुंगे पुल निर्माण गर्ने लक्ष्य बढाइएको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्म प्रदेशका नौ वटै जिल्लामा गरी दुई सय सात दशमलव छ किलोमिटर सडक कालोपत्रे लक्ष्य राखिएको छ भने आगामी आर्थिक वर्षमा एक सय ६० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको बजेटसंगै पेश गरिएको प्रदेश सरकारको मन्त्रालयगत प्रगति विवरणमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७४/७५ देखि ०७६/७७ सम्म एक सय २८ किलो मिटर सडक कालोपत्रे गरिएको प्रगति विवरणमा जनाइएको छ ।

चालू आर्थिक वर्षमा ५९ किलोमिटर ग्राभेल हुने, विगतका वर्षहरूमा तीन सय २२ किलोमिटर सडक ग्राभेल भएको र आगामी वर्ष ४८ किलोमिटर ग्राभेल गर्ने लक्ष्य दिएको प्रगति विवरणमा उल्लेख छ । त्यस्तै, चालू वर्षमा दुई १५ किलोमिटर माटेसडक निर्माण भइसक्ने, अघिल्ला वर्षहरूमा सात सय आठ किलोमिटर मोटेसडक बनाइएको र आगामी वर्ष दुई २८ किलोमिटर माटेसडक बनाइसक्ने लक्ष्य लिएको जनाइएको छ ।

त्यस्तै, शुरुका दुई वर्षमा १० सडक पुल र १८ झोलुंगे पुल निर्माण भएको चालू आर्थिक वर्षमा ५ सडक पुल र ६ झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेको तथा आगामी आर्थिक वर्षमा १४ सडक पुल र ८ झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेको प्रगति विवरणमा उल्लेख छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी छविराज जैशीले आगामी आर्थिक वर्षको लक्ष्य चालू आर्थिक वर्षको समिक्षापछि परिमार्जन हुने जनाए । उनले चालू आर्थिक वर्षको लक्ष्य अनुसार प्रगति भए नभएको आउँदो साउनमा मात्रै थाहा हुने बताउँदै ती प्रगति विवरणहरू समिक्षा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने बताए ।

प्रदेश गौरवका सडक आयोजनाहरूमा यस वर्ष एक सय दुई किलोमिटर सडक कालोपत्रे भइरहेको भौतिक पुर्वाधार विकास मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । प्रदेश गौरवको सडक मध्ये १५ किलोमिटर अपग्रेडिङ भइरहेको, २४ किलोमिटर ठेक्का लगाउने प्रक्रियामा रहेको, १८ किलोमिटर ट्रयाक खोल्ने काम भएको जनाएको छ ।

विगतका वर्षदेखि कार्यान्वयनमा रहेका प्रदेश गौरवका सडक आयोजना, क्रमागत आयोजना, रुपनान्तरणकारी आयोजना र बहुवर्षीय आयोजनाका लागि पाँच अर्ब १२ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले प्रत्येक जिल्लामा एक÷एक वटा प्रदेश गौरवका सडक निर्माण गरिरहेको छ । प्रदेश गौरवका सडक आयोजना अन्तरगत चालू आर्थिक वर्षमा एक सय चार किलोमिटर सडक कालो पत्रे सम्पन्न गरेको छ ।

प्रदेश सरकारले स्थानीय तहको केन्द्रहरू र जिल्लाहरू जोड्ने गरी सडक सञ्जाल विस्तार गर्न प्रदेश गौरवका सडकहरू निर्माण गर्न थालेको हो । ति सडकहरूले कम्तिमा तीन स्थानीय तहका मुकामहरू र दुई जिल्लालाई एक आपसमा सडक सञ्जालले जोडिने मन्त्रालयले जनाएको छ ।