सुदूरपश्चिमका केही भूभागमा अति भारी वर्षाको सम्भावना
2021/07/09, 9:59
 
dd

देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

सुदूरपश्चिम प्रदेशको केही स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। शुक्रबार राति पनि यस्तै मौसमी प्रणाली रहने छ। राति पनि देशभर सामान्य देखि पूर्ण बदली भएर प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा राति देखि नै वर्षा भैरहेको छ। यस्तै देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा पनि हल्का वर्षा भैरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेकाे छ।