बच्चा हुर्काउन फर्किए डल्फिन
2021/07/12, 6:30
 
dd

बच्चा हुर्काउन फर्किए डल्फिन

कैलालीको दक्षिणपूर्वी क्षेत्रमा जलचर प्राणी डल्फिन देखिन थालेको छ। मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा पानीको सतह बढेसँगै स–साना बच्चासहित डल्फिन देखिन थालेका हुन्।   डल्फिन संरक्षणको क्षेत्रमा सकृय भोजराज ढुंगानाले यो वर्ष पहिलो पटक असार १ गते मोहना र पथरैया नदीको दोभान नजिकै डल्फिन देखिएको बताए। उनले असारको पहिलो सातासम्म विभिन्न ठाउँमा बच्चासहित १२/१३ वटा डल्फिन देखिएको बताए। उनका अनुसार हाल पानीको सतह कम भएकाले त्यसरी समूहमा देखिएको छैन।  

‘साना बच्चाहरु पनि देखिएका छन्’ उनले भने,‘अब यिनीहरु केही महिना यतै रमाउने छन्।’ नदीमा डल्फिन देखिन थालेपछि डल्फिन क्षेत्रमा आउनेजानेको संख्या समेत बढ्दै गैरहेको छ। मानिस पछिको चेतनशील प्राणीका रुपमा रहेको डल्फिन हेर्नका लागि टाढा टाढाबाट सर्वसाधारण आउने गरेका छन्। डल्फिन हेर्नका लागि स्वदेशी मात्रै हैन विदेशी नागरिक समेत आउँछन्।  

टीकापुर र भजनी नगरपालिकाका बासिन्दा विगत लामो समयदेखि डल्फिन संरक्षणमा आफै जुटेका छन्। उनीहरु स्वस्फूर्त रुपमा डल्फिनको संरक्षण गर्दै आएका छन्। स्थानीयकै पहलमा विभिन्न १४ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना भएका छन् भने समुदायमा ३ वटा इको क्लब र ९ वटा डल्फिन क्लब गठन गरिएका छन्। डल्फिन संरक्षणमा प्रत्यक्ष अप्रत्यक्ष गरी करिव ६० हजार स्थानीय सकृय छन्।  

स्थानीयकै पहलमा २०५६ बाट डल्फिन संरक्षण भैरहेको छ। पहिलो पटक भोजराज श्रेष्ठ अर्थात गुलेली बाजेले डल्फिन संरक्षणको अभियान थालेका हुन्। उनलाई अमेरिकी नागरिकले डल्फिनको महत्वका बारेमा सुनाएपछि यस्तो पहल थालेका हुन्। त्यसअघि सीमावर्ती मोहना नदीमा भारतीयले जाल हानेर डल्फिन मार्थे। कहिलेकाँही स्थानीयले समेत मार्थे। माछा मार्ने क्रममा समेत थुप्रै डल्फिन मरेका थिए। त्यसको महत्वका बारेमा कसैलाई जानकारी नै थिएन। स्थानीयले स्वाँसु, सोस लगायत भनेर चिन्थे। डल्फिन संरक्षण अभियानमा थुप्रै युवाहरु स्वयम्सेवीका रुपमा समेत खटेका छन्। उनीहरु आफ्नो काम छोडेर भएपनि डल्फिन संरक्षणका बारेमा जनचेतना बाँड्दै हिँड्छन्। यसले समुदायका बासिन्दालाई उत्साहित बनाउने गरेको छ।  

यहाँ ग्याँगेटिक जातको डल्फिन पाइन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाइन्छ। यो मांशाहारी प्राणी हो। यसले मुख्य आहराका रुपमा माछा, घोँगी लगायत खान्छ। यसले बच्चा जन्माउँछ। वर्षमा एक वा एकै पटक दुई वटासम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ।  

गतवर्ष १३ बच्चा सहित ६० डल्फिन देखिएका थिए। यसअघि २०७६ मा ४५, २०७५ मा ४०, २०७४ मा २२ र २०७३ मा ६३ डल्फिन देखिएका थिए। स्तनधारी प्राणीका रुपमा रहेको डल्फिन अध्ययनकर्ताका अनुसार कैलालीको दक्षिणपूर्वी क्षेत्रमा रहेका यी नदीहरुमा बच्चा हुर्काउन आउने गरेको पाइन्छ। वर्षाको समयमा डल्फिनलाई बच्चा हुर्काउनका लागि कैलालीको दक्षिणी भेगका नदीहरु उपयुक्त स्थान हुन्। यहाँ पानीको बहाव कम, आहरा प्रजाति (माछा र घोँगी) को उपलब्धताका कारण सुरक्षित बासस्थान मानिएको छ।