श्रीमतीको कान काट्ने श्रीमानलाई प्रहरीले पक्राउ परेका छन । जयपृथ्वी नगरपालिका–१ भण्डारका २६ वर्षिय मनोज नेपाली आज जयपृथ्वी नगरपालिका–७ को कचाली खोला नजिकैवाट प्रहरीले पक्राउ गरेको हो । नेपालीले गत असार ३० गते मदिरा सेवन गरी परपुरुषसँग किन हाँसेको भन्दै चक्कुले कान काटेका थिए ।
कान चक्कुले काटेपछि हातमा राखेर अस्पतालमा गएर जोडी माग्नु भन्दै उनी फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खोज तलासका लागी प्रहरी नै परिचालित भएको भएपनि आज साधा पोशाकमा खटिएको प्रहरी टोलीले कचाली खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । पीडितले नेपालीमाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।
२६ वर्षिय मनोज नेपालीसँंग ६ वर्ष पहिले मागी विवाह गरेकी जानकी नेपालीले बारम्बार घरेलु हिंसा भोग्दै आएकीछिन् । विहे गरेको दुइ महिना नवित्दै हिंसाको सिकार हुन पुगेकी उनले अहिले हिंसाकै कारण बेलाबेला मानसिक सन्तुलन गुमाउने गरेको जानकी नेपालीका दाई गोविन्द नेपालीले बताए । गत असार ३० गते राति मदिराको मातले लट्ठ भएका मनोजले एक जना आफन्तसँग दिउँसो किन हाँसेको भनेर उनलाई जे हातमा पर्यो त्यही सामानले कुटेको र आफु बेहोस भएर ढलेपछि चक्कुले कान काटेको जानकीले बताएकी छिन । ‘कान काटेपछि काटेको ठाँउमा दाँतले चपाएर रगत पनि चुसे ।’ उनले भनिन ।
अहिले उनको काटिएको कानको शल्यक्रिया भएको छ । शल्यक्रिया सम्पन्न भएको भए पनि कान जोडिने नजोडिने केही निश्चित नभएको जिल्ला अस्पताल बझाङका चिकित्सकहरुले बताएका छन । १५ वर्षको उमेरमा ९ कक्षा पढ्दै गर्दा विवाह गरेकी उनले छ वर्षको अवधिमा श्रीमानको कुटाइका कारण पटक पटक मृत्युशैयामा पुग्नु परेको बताएकी छन् ।
श्रृङखलाबद्ध रुपमा यातना भोगेकी जानकीले हालसम्म कानुनी उपचार पाएकी छैनन । भारतमा घटना भएको बेला समेत उनका सासु ससुराले छोरा विरुद्ध भारतिय प्रहरीमा उजुरी गरेको भएपनि कुनै कारबाही नगरी छाडिदिएको उनका दाजु गोविन्दले बताए । यस पटक पनि उनीहरुले न्यायका लागि भन्दै प्रहरीमा उजुरी दिएका छन ।