सुदूरपश्चिम सरकारको बजेट खर्च: ११ महिनामा १३ अर्ब, एक महिनामा १० अर्ब !
2021/07/18, 9:58
 
bb

सुदूरपश्चिम प्रदेश सरकारले पछिल्लो एक महिनामा १० अर्ब हाराहारीमा बजेट खर्च गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिम असार महिनामा मात्र प्रदेश सरकारले ९ अर्व ८० करोड बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । ज्येष्ठ महिनामा प्रदेश सरकारको खर्च १३ अर्ब ४२ करोड रहेकोमा असारमा २३ अर्व १९ करोड पुगेको छ । चालु तर्फ प्रदेश सरकारले १० अर्ब ४९ करोड १५ लाख अर्थात् ६४.१५ प्रतिशत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख वासुदेव जोसिले बताए । 

पुजीगत तर्फ १२ अर्ब ६९ करोड ९५ लाख अर्थात् ६९.८९ प्रतिशत बजेट मात्रै खर्च भएको जोशिले जानकारी दिए ।  ´प्रदेश सरकारको बजेट खर्च हेर्दा निराशाजनक नै छ, उनले भने,`असारमा धेरै खर्च भएको देखिएको छ, तर पनि प्रदेश सरकारले जम्मा बजेटको ६६.१७ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ।´

कुन मन्त्रालयमा कति खर्च ?
प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सबै भन्दा धेरै ७८.६५ प्रतिशत बजेट खर्च गरेको छ । सबै भन्दा कम अर्थ मन्त्रालयको ३.७० प्रतिशत प्रगति देखिएको छ। यस्तै कृषि मन्त्रालय पछि भौतिक पूर्वाधार मन्त्रालयले ७६.७५ प्रतिशत बजेट खर्च गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ७४.०४ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ७४.६९ प्रतिशत, सामाजिक विकाश मन्त्रालयको ७२.५९ प्रतिशत र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले ३६.२६ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश व्यवस्थापिकाले ८३.७९ प्रतिशत बजेट खर्च गरेको छ ।

चालू बर्षमा गल्ती दोहोर्‍याउँदैनौ : प्रवक्ता जोशी
सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशिले सरकारको आन्तरिक कमी कमजोरीका कारण पर्याप्त बजेट खर्च गर्न नसकेको बताइन् ।  `प्रयासका बावजुत पनि असारे विकास रोक्न सकेनौँ, उनले भनिन्,` अस्थिर राजनीतिका कारण पनि सरकार सञ्चालनमा समस्या आयो लामो समय अर्थ मन्त्रालय मन्त्री विहीन पनि भयो यस कारण पनि पर्याप्त बजेट खर्च गर्न सकेनौँ, असारमा खर्च बढ्नुको कारण, मन्त्रीपरिषद् पुनर्गठन गरेर हामीले प्रभावकारी ढ्ङग्ले काम गर्नु नै हो।´

बिगतको पाठ्ले पनि चालु वर्षमा पर्याप्त बजेट खर्च हुने मन्त्री जोशीको दाबी छ । `हामीले चालू बर्षमा पहिलो चौमासिक बाटै बजेट कार्यान्वयनमा जान्छौँ,`विगतमा जस्तो कमीकमजोरी हुँदैन,हामी प्रभावकारी ढङ्गले काम गर्छौँ ।´