विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड-१९) कारण डोटी जिल्लामा २०७८ साल असारसम्म दुई हजार ८६५ जना संक्रमित भएका छन् भने ११ जनाले ज्यान गुमाएका छन् । जिल्लामा २०७७ साल जेठ १९ गते पहिलो पटक शिखर नगरपालिका-३ का एक जना पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो । त्यसयता संक्रमितहरुको संख्यामा उतारचढाव भएको छ ।
असार मसान्तसम्म एण्टिजेन बिधिबाट दुई हजार ९२५ जनामा परीक्षण गर्दा ३६६ अर्थात् १२.५१ प्रतिशतमा संक्रमण देखिएको छ । यस्तै पीसीआर विधिबाट १५ हजार ६०४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४९९ अर्थात् १६ प्रतिशतमा संक्रमण देखिएको छ । २०७८ साल जेठ महीनामा सबैभन्दा बढी ७८७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यस्तै वैशाख महीनामा ५८६ जनामा संक्रमण देखिएको थियो ।
यसअघि २०७७ साल असारमा संक्रमण उच्च विन्दुमा देखिएको थियो । उक्त महीना ५२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । फागुन महीनामा भने एक जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएन् ।दोश्रो लहरको कोरोना संक्रमणका क्रममा २०७७ साल चैत्रमा १० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । यो संगै दोश्रो लहरको महामारी शुरु भएपछि असार मसान्तसम्म एक हजार ४५३ जना संक्रमित भएका छन् ।
कुन स्थानीय तहमा कति संक्रमित
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कोरोनाको संक्रमाबाट सवैभन्दा बढी दिपायल सिलगढी नगरपालिका रहेको देखिन्छ । यस नगरपालिकामा ९६५ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्याङ्कमा देखिन्छ । परीक्षण बढी भएका कारण पनि दिपायल सिलगढी नगरपालिकामा संक्रमितको संख्या बढी देखिएको हुन सक्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।
सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा ११० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै शिखर नगरपालिकामा ४०१, आदर्श गाउँपालिकामा ३८४, केआई सिंह गाउँपालिकामा २५९ र पूर्वीचौकी गाउँपालिकामा २५५ संक्रमित पुष्टि भएका छन् । यसैगरी जोरायल गाउँपालिकामा १७७, बडीकेदार गाउँपालिकामा १७५ र साय गाउँपालिकामा १३९ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल व्यक्ति तेजबिक्रम शाहीले जानकारी दिए ।
मृत्युको तथ्याङ्क
कोरोना संक्रमणका कारण जिल्लामा तीन महिला र आठ पुरुष गरी ११ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धववहादुर ठगुन्नाले वताए । ‘ उपचारका क्रममा अन्य जिल्लाका अस्पतालहरुमा मृत्यु भएकाहरुको तथ्याङ्क उतै राखिने भएकाले यहाँ समावेश नभएको उनले वताए ।
ठगुन्नाका अनुसार दिपायल सिलगढी नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको । यस्तै शिखरमा एक महिला र एक पुरुष गरी दुई, केआई सिंहमा एक महिला र एक पुरुष गरी दुई, पूर्वीचौकी, बडीकेदार र आदर्शमा एक/एक पुरुषको मृत्यु भएको छ ।
जिल्लामै उपचारका क्रममा ११ जनाको मात्रै निधन भएको भए पनि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा भने डोटीका १५ जनाले कोरोना महामारीविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाएका छन् । निर्देशनालयका अनुसार पिसिआर विधिबाट परीक्षण भएकामध्ये १० र एन्टिजेन विधिबाट परीक्षण भएकामध्ये पाँच जनाले ज्यान गुमाएका हुन् ।
डोटी जिल्लामा पहिलो लहरको कोरोना संक्रमणको क्रममा केआई सिंह गाउँपालिका-४ का एक पुरुषले ज्यान गुमाएका थिए ।