डोटीमा विद्युत प्राधिकरणको लापरवाही, ६ महिनासम्म उठेन ढलेको पोल
2021/08/01, 1:00
 
dd

डोटीमा नेपाल विद्युत प्राधिकरणले गम्भीर लापरवाही गरिरहेको आरोप लागेको छ। जिल्लाको विभिन्न स्थानीय तहमा देखापर्ने समस्या समाधानमा प्राधिकरण उदासिन देखिएको आरोप लागेको हो।  पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ उपरकाडाँमा विद्युत विस्तार भएको एक वर्ष हुन लागेको छ। तर विद्युतको तार विस्तार गरिएको पोल ढलेको ६ महिना पुरा हुँदापनि मर्मत नभएको स्थानीय मीनबहादुर साउदले बताए।

‘हामीले विद्युत प्राधिकरणलाई पटक–पटक खबर गर्दा पनि वेवास्ता भइरहेको छ,’ उनले भने, ‘पोलका कारण घरहरु जोखिममा छन्, मर्मतका कहिले हुन्छ थाहा छैन।’ विद्युत मिटर रिडिङसमेत नहुने गरेका कारण स्थानीय मर्कामा परेका छन्। उक्त समस्या समाधान गर्नका लागि स्थानीय जनप्रतिनिधिले समेत चासो नदिएको साउदले बताए। 

यता विद्युत प्राधिकरणले भने ढलेको पोल छिट्टै मर्मत गर्ने दाबी गरेको छ। नेपाल विद्युत प्राधिकरण युनिट कार्यालय सिलगढीका प्रमुख नृप मलासीले केही दिनमा ढलेको पोल मर्मत हुने बताए।