तुइन हटाएर झोलुंगे पुल बनाउन गृहमन्त्रीको निर्देशन
2021/08/01, 10:17
 
ss

गृहमन्त्री बालकृष्ण खाणले तुइन भएको ठाउँमा तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्नै अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिर‍ीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह प्रवक्ता फणीन्द्रमणि पोखरेललगायतको उपस्थिति रहेको थियो । शुक्रबार महाकाली नदीमाथि रहेको तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा महाकालीमा बेपत्ता छन् । उक्त घटनापछि गृहमन्त्री खाणले तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तुइनमुक्त घोषणा गरिसकेका छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर सडक आवागन सहज बनाउनुपर्ने गृहमन्त्री खाणको भनाइ छ । उनले नागरिकको सुरक्षा, उद्धार र राहतका लागि गृहमन्त्रालय प्रतिबद्ध रहेको पनि बताए ।