डोटीमा मेलका बोटमा फलेका नास्पाती धनगढी पठाईयो
2021/08/02, 9:31
 
dd

डोटीमा मेलका बोटमा फलेका नास्पाती धनगढी पठाइएको छ।   तत्कालिन सानागाउँ गाउँ विकास समिति, हालको पूर्वीचौकी गाउँपालिका -४ मा १० वर्षअघि २०६८ सालको चैत्रमा किसानका बारिमा रहेका जङ्गली मेलमा नास्पाती कलमी गरिएको थियो। सोही नास्पाती आइतबार जुस उत्पादनका लागि धनगढी पठाईएको हो।

कृषि विकास निर्देशनालय दिपायल र कृषि ज्ञान केन्द्र डोटीको सहयोगमा ‘डोट्याली नास्पाती’ नाम दिई प्याकेजिङ्ग गरिएको १० क्विण्टल नास्पाती धनगढी पठाईएको बताइएको छ। किसानको बारीबाट संकलन गरी प्रति केजी २५ रुपैयाँका दरले नास्पाती एस.एम.टी. फलफूल प्रशोधन प्रा.लि.लाई बिक्री गरिएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ।

नास्पाती अहिले ‘स्याम्पल’का रुपमा धनगढी पठाईएको बताइएको छ। सुरुवातमा त्यति महत्त्व नदिएका किसान अहिले एउटै बोटबाट क्विन्टलका हिसाबले नास्पाती उत्पादन हुँदा खुसी भएका छन्।