महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अनुसन्धान गर्न प्रत्यक्षदर्शी तीन जनालाई आज जिल्ला सदरमुकाम खलंगा ल्याइँएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा देख्ने तीन जना प्रत्यक्षदर्शीलाई जिल्ला प्रशासन कार्यालयमा ल्याईएको हो।
यसअघि नै शसस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा एउटा टोली र नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेर घटनाको यथार्थ पत्ता लगाउने कोसिस गरेको थिया। दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम जान लागेका स्थानीय ३३ वर्षीय धामी केही दिनअघि बेपत्ता भएका थिए। अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दै गर्दा भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएर ‘हत्या’ गरिदिएको आरोप लागेको छ।
तर यतिबेलासम्म भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएको हो कि होइन, धामी नदीमै डुबेर वेपत्ता भएको हो कि होइन भन्ने खुलेको छैन। प्रत्यक्षदर्शीले भने तुइन नजिकै हातमा आरा लिएका भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानहरू देखेको र उनीहरुले नै तुइन काटिदिएको हुनसक्ने बताएका छन्।
तुइन काटिएको सम्बन्धमा भारतीय सिमा सुरक्षा बल एसएसबीले भने अनभिज्ञता जनाउँदै आफ्नो संलग्नताबारे इन्कार गरेको छ। भारतीय पक्षले तुइन काटिएको सम्बन्धमा इन्कारी जवाफ दिएपनि प्रत्यक्षदर्शीले भने तुइन काटिएको नै बताउँदै आएका छन्। पहिले पनि भारतीय सिमा सुरक्षा बलले तुइन काट्ने गरेकाले त्यस समयमा पनि तुइन तर्दै गर्दा काटिएको आरोप लगाएका छन्।
घटनालाई नजिकबाट देखेका व्यक्तिलाई सदरमुकाम बोलाइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले बताइन्।