दार्चुला व्याँस गाउँपालिकाका जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा बेपत्ता भएपछि घटनाका प्रत्यक्षदर्शीलाई दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ। कल्याणसिंह धामी, अनिता धामी, विक्रम रङ्कोली र अन्य तीन गाउँलेलाई सदरमुकाम ल्याएको हो।
कल्याणले २१ वर्षदेखि त्यहीं तुइन सञ्चालन गर्दै आएका छन्। अनिता र विक्रम जयसिंहसँगै सदरमुकाम हुँदै काठमाडाँैं जानका लागि गाउँबाट हिँडेका थिए। प्रत्यक्षदर्शीलाई सोमबार रातिसम्म प्रहरी कार्यालयमै राखिएको थियो।
पत्रकार, अधिकारकर्मी, व्याँसका जनप्रतिनिधि, पीडितका आफन्तलगायतले प्रत्यक्षदर्शीहरूलाई भेट्न कोसिस गरे पनि प्रहरीले आनाकानी गरेको थियो। चौतर्फी दबाबपछि प्रश्न सोध्न नपाइने सर्तमा प्रत्यक्षदर्शीसँग भेट्न दिइएको छ।
व्याँस गाउँपालिका– ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले पनि प्रत्यक्षदर्शी निकै डराएको र त्रासमा रहेको बताए। तुइन तार्ने काम गर्दै आएका कल्याणसिंह धामीले भने, ‘शुक्रबारदेखि लगातार फोन आइरहेको छ। कतिले के सोध्छन्, कतिले के सोध्छन्। होस नै छैन।’
यता प्रत्यक्षदर्शीबाट घटनाबारे बयान लिइने सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्। गृहको टोलीले प्रत्यक्षदर्शीसँग कुरा गर्ने उनले बताइन्।