प्रहरी जवानको मौखिक परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा नक्कली परीक्षार्थी सामेल गराउने ५ जनालाई पक्राउ गरिएको हो।
बझाङ्ग तलकोट गाँउपालिका वडा न. ०३ बस्ने २० वर्षका सुदिप रोकाया, धनगढी उपमहानगरपालिका वडा न. १६ का २३ वर्षीय सुन्दर चौधरी, बझाङ्गको दुर्गाथली गाँउँपालिका वडा न. ५ का २० वर्षीय दीपेन्द्र जप्रेल, कैलालीको कैलारी गाउँपालिका वडा न. ७ का २३ वर्षीय रामनरेश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का २३ वर्षीय नरेन्द्रबहादुर धामीलाई पक्राउ गरिएको हो। किर्ते गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरि डोटी जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।