मालपोत कार्यालय बैतडीले संकलन गर्‍यो ८३ लाखभन्दा बढी राजस्व 
2021/08/04, 2:14
 
dd

 मालपोत  कार्यालय बैतडीले गत आर्थिक वर्षमा ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले पूँजीगत लाभकर, प्रशासनिक दण्ड जरिवाना, रजिष्ट्रेसन र अन्य विविधबाट ८३ लाख ३६ हजार ११० रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालयले सवभन्दा बढि रजिष्ट्रेसन शुल्कवाफत ५३ लाख २७ हजार ४१३ रुपैयाँ, पूँजीगतलाभ कर वाफत १३ लाख ४५ हजार ७४२ रुपैयाँ, सेवाशुल्कबाट १६ लाख ५५ हजार ४०५ रुपैयाँ, पूर्जा विक्रीबाट १ हजार २५० रुपैयाँ र बेरुजू असुलीबाट ६ हजार ३०० रुपैयाँ संकलन गरिएको मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुख दिलाराम भट्टले वताए ।

कोभिड १९ नियन्त्रणको लागि गरिएको लकडाउनले गर्दा अपेक्षा अनुसारको राजस्व संकलन नभएको उनले बताए ।गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८३१ रुपैयाँले बढी हो । आव २०७६/ ७७ मा ६१ लाख २६ हजार २७९ रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । 

अहिले जिल्लाका सबै स्थानिय तहमा सडक सञ्जालले जोडिएपछि र बैंकिङ सुविधा भएपछि जमीनको खरीदविक्रीमा वृद्धि भइरहेको छ । जमीन धितो राखेर बैंकबाट ऋण लिनेको संख्या बढेको छ । यसले गर्दापनि जमीन रोक्का गर्नेको संख्या बढ्दा राजस्व संकलनमा वर्षेनी वृद्धि हुँदै गएको मालपोत कार्यालयका कर्मचारीहरु बताउँछन् । 

मालापोत कार्यालयले संकलन गरेको रजिष्ट्रेसन शुल्कको जम्मा रकमको ४० प्रतिशत रकम प्रदेश सरकारलाई र ६० प्रतिशत रकम स्थानिय तहलाई बुझाउनु पर्ने हुन्छ । आव ०७७/ ०७८ मा पनि मालापोत कार्यालय बैतडीले रजिष्ट्रेसन शुल्कबाट प्रदेश सरकारलाई २१ लाख ३० हजार ९६५ रुपैयाँ र जिल्लाका १० ओटै स्थानिय तहलाई ३१ लाख ९६ हजार ४४७ रुपैयाँ पठाएको छ । 

जिल्लाको सबैभन्दा बढी राजस्व पाउने स्थानिय तहमा पाटन नगरपालिका रहेको छ भने सबैभन्दा कम राजस्व पाउनेमा पञ्चेश्वर गाउँपालिका रहेको छ । पाटन नगरपालिकाले ८ लाख ६३ हजार ६२२ रुपैयाँ र पञ्चेश्वर गाउँपालिकाले ६ हजार १८८ रुपैयाँ प्राप्त गरेको मालपोत कार्यालयले बताएको छ ।