अमेरिकाले काबुलबाट उद्धार गरेका ११८ नेपाली स्वदेश आइपुगे
2021/08/17, 12:55
 
aa

अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय १८ नेपाली र ९ भारतीय सहित १२७ जना नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले मंगलबार गरेको ट्विट अनुसार उनीहरुलाई कुवेतबाट चार्टर विमान मार्फत नेपाल ल्याइएको हो । उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । तीमध्ये १ सय १८ जना मंगलबार बिहान नेपाल आइपुगेको एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले बताए । गुरुङकै कम्पनीले यी सुरक्षागार्डलाई अमेरिकी दूतावासमा काम गर्ने गरी अफगानिस्तान पठाएको थियो । उनीहरूलाई दाेहाबाट कुवेत पुर्‍याई अल–जजिरा एयरवेजमार्फत नेपाल ल्याइएको हो ।

दोहामा रहेका अन्य नेपाली सुरक्षागार्डलाई पनि क्रमश: उद्धार गरेर ल्याउने तयारी रहेको गुरुङले जानकारी दिए । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व झन् चर्किएको छ । विद्रोही तालिबान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ । राष्ट्रपति असरफ घानी देश छाडेर हिँडिसकेका छन् । त्यहाँ अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरूलाई नेपाल फर्काउन पाकिस्तान सरकारले पनि समन्वय गर्ने भएको छ ।