अस्मिता धामीको न्याय माग्दै परशुराम नगरपालिका घेराउ
2021/08/20, 5:12
 
dd

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको न्याय माग्दै संघर्ष समितिले परशुराम नगरपालिका घेराउ गरेका छन् । नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय भएको थियो।

तर, हालसम्म नगरपालिकाले राहत स्वरूप नदिएको भन्दै पुन आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए । अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबीच सहमति भएको थियो। सहमति भएको लामो समय हुदाँ पनि  कार्यान्वयनमा भने नगरपालिकाले चासो नदिएको बोहराको आरोप छ।

शुक्रबार अस्मिताको न्यायका लागि गठिन संघर्ष समितिले ‘अस्मितालाई न्याय दे, बलात्कारीलाई फाँसी दे, समहमति कार्यान्वयन गर, महिला हिंसा बन्द गर’ लगाएतका नारा लगाउँदै नगरपालिका घेराउ गरेका हुन् । अस्मिताका श्रीमानलाई स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी राखिएको भएपनि नियुक्ति पत्र भने नगरपालिकाले अझै नदिएको जनाएको छ ।  

यसका साथै नियुक्ति पत्र दिने प्रक्रिया पनि स्वास्थ्य शाखाले अगाडि बढाइरहेको बताएइको छ। यसअघि संघर्स समितिले घटनाको सत्य तथ्य छानबिन गरिदिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाइएको थियो।

असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। त्यसबाट कुनै ठोस् प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ। प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ। जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ।