बझाङको साईपाल गाउँपालिका, जहाँ १८ वर्षमाथिका सबैले पाइसके कोरोना विरुद्धको खोप
2021/08/31, 4:42
 
aa

कोरोना महामारी फैलिएको धेरै समयपछि नेपालमा कोरोना विरुद्धको खाेप आएको थियो। सबैभन्दा पहिले भारतले नेपाललाई गत माघ ८ मा १० लाख खोप अनुदानमा दिएको थियो। 

भारतले दिएको कोभिशिल्डपछि नेपालमा भेरोसेल र जोन्सन एण्ड जोन्सन नामक खोप पनि आइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिशिल्डका २४ लाख ४८ हजार मात्रा, भेरोसेल ५८ लाख र जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा गरी हालसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको छ।

सोही भारत र चिनबाट प्राप्त कोभिशिल्ड तथा भेरोसेल खोप बझाङको साईपाल गाउँपालिकाले आफ्ना नागरिकलाई प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष राजेन्द्र धामीका अनुसार एकदमै न्यून जनसंख्या रहेको गाउँपालिकाका १८ वर्षभन्दा माथिका सबैलाई कोरोना विरुद्धको खोप दिइएको छ। चिनसँग जोडिएको स्थानीय तह भएकाले १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाइएको उनले बताए।

जम्माजम्मी ३ हजार जनसंख्या रहेको गाउँपालिकाका ३६३ जनालाई कोभिशिल्ड र बाँकीलाई भेलेसेल गरि १४ सय ७८ जनालाई खोप प्रदान गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयराज जोशीले बताए। ‘हामीले फागुनमा ५५ वर्षभन्दा माथिका सबैलाई कोभिशिल्ड लगाएका थियौं। त्यसपछि सीमा जोडिएको सम्पूर्णलाई खोप लगाउने भनेपछि १८ वर्षभन्दा माथिका अन्य सबैलाई भेरोसेलको डोज दियौं’ उनले भने। 

गाउँपालिकामा हालसम्म ७ जनालाई कोरोना भाइरसको संक्रमण भएको थियो। अहिले गाउँपालिकामा शुन्य संक्रमित रहेको स्वास्थ्य शाखाले जनाएको छ।