सुदूरपश्चिममा उद्योग दर्ता हुने क्रम बढ्यो 
2021/09/01, 10:14
 
dd

सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढेको छ । पछिल्लो समय उद्यमतिर आकर्षण बढेपछि उद्योग दर्ता हुनेक्रम पनि बढेको हो । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायलयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएको छ ।

जसमध्ये सबैभन्दा बढी ११ हजार २२६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । यसैगरी, कृषि र वनमा आधारित उद्योग आठ हजार ६७२, उर्जामूलक उद्योग छ हजार ३८५, उत्पादनमूलक उद्योग पाँच हजार ६१३ वटा दर्ता भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, पर्यटन उद्योग चार हजार १८ र निर्माण सम्बन्धी उद्योग २३१ दर्ता भएको छ ।

कोरोना महामारीका कारण धेरै मान्छे स्वदेश फर्केर उद्यमतिर लागेका छन् । कोरोनाकै कारण उत्पन्न बेरोजगारी समस्याका कारण धेरै मान्छे उद्यमतिर आकार्षित भइरहेको मन्त्रलायका योजना शाखा अधिकृत भरत श्रेष्ठले बताए ।

‘विदेशमा सीप सिकेकाहरु पनि यहाँ आएर त्यो सीप सदुपयोग गर्न उद्योग सञ्चालन गरिरहेका छन्’, उनले भने । ‘स–साना उद्योग दर्ता गरेर उद्यम गर्नेहरुको सङ्ख्या बढ्दै छ ।’ धेरै युवा उद्योग सञ्चालतिर अग्रसर भइरहेका छन् । 

यसैबीच, प्रदेशभरि लघु उद्यमीहरुको सङ्ख्या २२ हजार ५७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये, १७ हजार ६८ जना सक्रिय छन् भने पाँच हजार ५११ जना निस्क्रिय रहेको श्रेष्ठले जानकारी दिए ।