गोदावरी नगरपालिकामा प्रकृया मिचेर ठेक्का दिने तयारी
2021/09/09, 1:52
 
Lagu

 कैलालीको गोदावरी नगरपालिकाले नगरभित्रका नदीबाट नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री शुल्क संकलन सम्बन्धी ठेक्का कानुनी प्रकृया मिचेर दिने तयारी गरेको छ । नगरपालिकाले करिब सात करोडको ठेक्का तोकिएको प्रकृया पुरा नगरेको कम्पनीलाई दिन उक्त कम्पनीको बोलपत्र स्वीकृत गरेर सम्झौता प्रकृया अगाडि बढाएको हो ।

नदीजन्य पदार्थ बिक्री शुल्क संकलनका लागि नगरपालिकाले आव्हान गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएका शर्त पालना नगरेको कम्पनीलाई मिलेमतोमा ठेक्का दिन लागिएको भन्दै प्रतिस्पर्धामा सहभागी अन्य व्यवसायीहरुले विरोध जनाएका छन् ।

गोदावरी नगरपालिकामा पर्ने खुटिया, खैराना र गोदावरी नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरी तोकिएको शुल्कमा बिक्री गर्नका लागि विद्युतीय बोलपत्रमा सहभागी हुन आव्हान गर्दै गत ३ भदौमा नगरपालिकाले दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनामा उल्लेख गरिएको पहिलो शर्तमै विद्युतीय बोलपत्र पठाउँदा बोलपत्रसम्बन्धी कागजातसँगै बोलपत्र फाराम दस्तुरवाफतको पाँच हजार रुपैयाँ एनआइसी एसिया बैंक अत्तरिया शाखामा रहेको नगरपालिकाको आन्तरिक राजस्वको खातामा जम्मा गरेको भौचर अनिवार्य रुपमा पठाउनुपर्ने भनिएको छ । तर शर्त विपरित नगरपालिकाले बैंकमा फाराम दस्तुर जम्मा नगरेको कम्पनीलाई ठेक्का दिन लागेको हो ।

निकटलाई ठेक्का दिन नगरपालिकाले आफैले तोकेको शर्त विपरित बोलपत्र बुझाउनु पर्ने अन्तिम दिन कार्यालय समय सकिनै लाग्दा बोलपत्र खरिदको नगद रकम बुझेको प्रतिस्पर्धामा सहभागी बज्र–रेखा जेभीका सञ्चालक जनक शाहीले बताए ।

‘शर्तमा बोलपत्र शुल्क बैंकमा जम्मा गरेको भौचर अनिवार्य भनिएको छ तर बोलपत्र खरिदको समय सकिनै लाग्दा नगरपालिकाले एउटा कम्पनीबाट आफैले ठेलीबाट रकम बुझेर बोलपत्र बिक्री गरेको छ ।’ शाहीले भने, ‘नगरपालिकामा नगद बुझाएर पनि बोलपत्र किन्न सकिने भनेर बोलपत्र खरिद सम्बन्धी शर्तमा कहीँ पनि उल्लेख छैन । आफू निकटलाई ठेक्का दिन नगरपालिकाले आफैले तोकेको शर्त र प्रकृया विपरित काम गरेको छ ।’ 

शर्तअनुसार बैंकमा रकम जम्मा नगरेको कम्पनीलाई छनौट प्रकृयामै सहभागी नगराउन पर्नेमा मिलेमतोमा ठेक्का दिइएको शाहीको आरोप छ । ‘बढी रकम कबोल गरेकालाई ठेक्का दिनु स्वाभाविक हो। यसमा हाम्रो कुनै आपत्ति होइन, तर बढी रकम कबोल गरेको नाममा प्रकृयानै पुरा नगरेको कम्पनीलाई ठेक्का दिइनु आपत्तिजक छ ।’ शाहीले भने, ‘नगरपालिकाले प्रकृया मिचेर हामीमाथि अन्याय गरेको छ।’

प्रतिस्पर्धामा सहभागी अर्को कम्पनी एलबी एण्ड एबी विल्र्डसले पनि प्रकृया पुरा नगरेको कम्पनीलाई ठेक्का दिएको भन्दै आपत्ति जनाएको छ । नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा तीन वटा कम्पनीको बोलपत्र परेको थियो । नगरपालिकाले भ्याटबाहेक छ करोड २२ लाख २२ हजार रकम कबोल गरेको भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरको बोलपत्र स्वीकृत गरेको छ । प्रतिस्पर्धामा सहभागी अन्य दुई कम्पनीले उक्त रकमभन्दा कममा बोलपत्रमा पेश गरेका थिए ।

नगरपालिकाले प्रकृयामा केही त्रुटि भएको स्वीकार्दै बढी रकम कबोल गरेको कम्पनीको बोलपत्र स्वीकृत गरिएको जनाएको छ । नगरपालिकाको राजस्व शाखा प्रमुख राजेशप्रसाद जोशीले सानातिना त्रुटिले बोलपत्र रद्द नहुने बताए ।