पञ्चेश्वरका युवाले उद्यम गर्न धितो र व्याज बिनै १५ लाख ऋण पाउने
2021/09/09, 10:05
 
Co

बैतडीको पञ्चेश्वर गाउँपालिकाका युवाले उद्यमी बन्नका लागी बिना धितो, बिना व्याज सहुलियत कर्जा पाउने भएका छन् । नेपाल सरकारको कार्यक्रम अनुसार १६ देखि ४० वर्षसम्मका युवालाई सहुलियत कर्जा दिइने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

पालिकाभित्र रहेका युवाका हकमा उमेर तोकिए पनि विदेशबाट फर्केकाको हकमा भने उमेर नहेरिने उनले बताए । ‘नेपाल सरकारको कार्यक्रमअन्तरगत यस वर्ष हाम्रो पालिकाका करिव १ सय ५० जनालाई तालिम दिई उद्यमी बनाउने र उनीहरूलाई व्यवसाय गर्न कम्तिमा ५ लाख र बढीमा १५ लाख ऋण दिइने छ । यसका लागी राष्ट्रिय युवा परिषद, पञ्चेश्वर गाउँपालिका र नबिल बैंकबीच त्रिपक्षीय सहमति भएको हो,’ उनले भने ।

कार्यक्रम सञ्चालनका लागि गाउँपालिका अध्यक्ष चन्द, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र नबिल बैंकका दिगो बैंक प्रबन्धक लिलाप्रसाद ओझाले मंगलबार त्रिपक्षीय सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमअन्तरगत महिला, दलित, विदेशबाट फर्केका व्यक्तिलाई प्राथमिकतामा राखिने बताइएको छ । राष्ट्रिय युवा परिषद्ले सात दिनको तालिम दिने, तालिमको खर्च गाउँपालिकाले व्यहोर्ने तथा नबिल बैंकले ५ देखी १५ लाखसम्मको सहुलियत कर्जा उपलब्ध गराउने राष्ट्रिय युवा परिषद्का कार्यकारी सदस्य गोबिन्द गिरीले बताए ।

कृषि तथा पशुपालन, साना तथा घरेलु उद्योगहरू, अटोमोबाइल्स, गाडि मर्मतलगायतका व्यवसायहरू र परम्परागत पेसा प्रर्वधनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । गाउँपालिकाले अवको एक हप्ताभित्र तालिमका लागि दरखास्त आह्वान गरिने जनाएको छ ।