कैलालीमा नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने उद्योगका सञ्चालकसहितका ७ जनासंग ५१ करोड धरौटी माग
2021/09/16, 3:02
 
dd

नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोप लागेका मदिरा उद्योगका सञ्चालक सहित सात जनासंग ५१ करोड बढी धरौटी माग भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरिया स्थित वेष्टर्न लिकर्स प्रालिका सञ्चालक हर्को साउँद, लेखापाल सक्रामसिंह साउँद लगायतका सात जनासंग ५१ करोड तीन लाख धरौटी माग गरिएको आन्तरिक राजस्व कार्यालय कैलालीका सूचना अधिकारी हिरानन्द देवकोटाले जानकारी दिए ।

सात जनाबाट जनही सात करोड २९ लाखका दरले धरौटी माग भएको हो । विगो अनुसारको धरौटी माग भएकोमा धरौटी कसैले पनि तिर्न नसकेपछि सबै जनालाई कारागार चलान गरिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उद्योगले नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको खुलेको छ । विस्तृत अनुसन्धान भने अहिले पनि राजस्व अनुसन्धान विभागले गरिरहेको छ । उद्योगले ५० युपीको सस्तो मदिरा उत्पादन गर्दै आएको थियो ।

प्रहरीले साउन अन्तिम साता आन्तरिक राजस्व विभागको स्टीकरसहित सुरुमा पाँच जनालाई पक्राउ गरेको थियो । जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा भारतका १९ बर्षीय  संजित कुमार, २० बर्षीय  रिङ्कु कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगरका ४० बर्षीय  राजकुमार शाह, पर्सा विरगंज नगरपालिका १३ घन्टाघरका ५५ बर्षीय विजय गुप्ता र जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा भारतका  २२ बर्षीय  सुरेशकुमारलाई पक्राउ गरिएको थियो । त्यसपछि उद्योग सञ्चालक र लेखापाललाई पनि पक्राउ गरिएको थियो । 

मोटरसाइकलमा सवार रहेका संजित कुमारलाई कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ स्थित तालबन्द सडकखण्डमा चेकजाँच गर्दा आन्तरिक राजस्व विभाग लेखिएको ७७ रोल (२,८८,६७४) स्टीकर फेला परेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा स्टीकरका रोलहरुमध्ये १३ रोल स्टीकरमा एउटै सिरियल नम्बर भेटिएको थियो । आन्तरिक राजश्व कार्यालय धनगढीसंग समन्वय गर्दै प्रहरी टोलीले वेष्टर्न लिकर्स प्रालि (मदिरा उद्योग) सिल गरेको थियो ।