बझाङमा वडाअध्यक्षको कुर्सी दुरुपयोग भएको पाइएको छ। छविसपाथिभेरा गाउँपालिका– ७ का वडाध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाइएको हो। मण्डेल वडाध्यक्ष रहेको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर कुर्सीमा बस्दै चुरोट तानेको फोटो समेत सार्वजनिक भएको छ।
उक्त कुर्सीमा बसेर चुरोट तान्ने सोही गाउँपालिकाको वडा नम्बर ७ का केशव धामी रहेको खुलेको छ। धामी नेकपा माओवादी केन्द्र नेता हुन्। उनी माओवादी वडा कमिटी अध्यक्ष तथा सुर्मा आधारभूत विद्यालय बुडखोरीका अध्यक्ष समेत रहेको बताईएको छ।
यता, वडाध्यक्ष पदम मण्डेलले आफू बाहिर रहेकाले वडा सदस्य जहरे धामीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताए। कार्यबाहक वडाध्यक्ष जहरे धामीले भने आफूलाई त्यो विषयमा थाहा नभएको र वडा कार्यालय अन्तै सारिएकोले सामान सराउने बेला कतै बसेको हुन सक्ने दाबी गरे ।