डडेल्धुराबाट विजयी कांग्रेसका २८ वर्षीय नगर सभापति भन्छन्- काम गरेर देखाउने हो
2021/09/28, 4:11
 
aa

२८ वर्षीय भरत बडायर जोशी डडल्धुराको परशुराम नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापति बनेका छन्। वायुमण्डलीय भौतिक शास्त्रमा मास्टर्स गरेका जोशीले यसअघि वडा अध्यक्ष, नेपाली कांग्रेस गाविस सभापति  र जिल्ला उपसभापति समेत भइसकेका धर्मानन्द भट्टलाई हराउँदै नगर सभापतिमा चुनाव जितेका हुन्।

शनिबार भएको नगर अधिवेशनमा जम्मा दुई सय मत खसेकोमा उनले १ सय ४८ भोट पाए। उनका प्रतिद्वन्द्वी भट्टले ४८ मत ल्याए भने ४ मत बदर भए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा नेतृत्व पुस्तान्तरणको सुरूवात भएको उनी बताउँछन्।  ‘पुस्तान्तरणको कुरा उठिरहेको छ, यो पद मागेर पाउनेभन्दा पनि मन जितेर आउनु पर्छ,’ उनले भने।

उनको परिवारमा राजनीतिमा लागेको अरू छैनन्। दुई दाजुहरू विदेशमै पढेर उतै जागिर गर्छन् भने एकजना नेपालमै व्यवसाय गर्छन्। गाउँमै एसएलसीसम्म पढेका उनले आइएससी पढ्न महेन्द्रनगर र बिएस्सी पढ्न काठमाडौं गए। बिएस्सी फिजिक्स त्रिचन्द्र कलेजबाट गरेपछि तीन वर्षे मास्टर्स चीनबाट गरे।

अध्ययनका लागि २०१६ देखि २०१९ सम्म उनी चीनमा थिए। स्कुले जीवनदेखि नै समाजसेवामा चासो देखाउने भरत जुनियर रेडक्रस सर्कल हुँदै सामाजिक क्षेत्रमा आए। राजनीति गर्न भने उनले त्रिचन्द्र क्याम्पसमा सिकेका हुन्। २०६८ मा त्रिचन्द्रमा नेविसंघको सदस्य भए।  उनलाई नेपाली कांग्रेसप्रति आफ्नै जिल्लाका शेरबहादुर देउवाको छविले प्रभाव पार्‍यो।

‘डेमोक्र्याटिक विचारबाट म प्रभावित छु, शेरबहादुर देउवाले देशका लागि सुदूरपश्चिमबाट जुन योगदान दिनुभएको छ, त्यसले मन छोयो र राजनीतिमा प्रवेश गरें,’ उनले भने। उनी त्रिचन्द्रमै कृष्णप्रसाद जैसी अध्यक्ष भएका बेला क्याम्पस इकाइ समिति सदस्य नियुक्त भएका थिए। ‘त्यसबेला विद्यार्थीका हकहितका लागि काम गर्‍यौं, जनसरोकारका विषयमा बोल्ने, आन्दोलन र प्रचारप्रसारका काम पनि सहभागी भएँ,’ उनले भने।

उनी पढेर राजनीतिमै आउने सोचमा थिए। ‘मेरो मुख्य फोकस नै समाजसेवा र राजनीतिमै हो। सुरूमा पढेर योग्यता पुगेपछि राजनीतिमा जानुपर्छ भन्ने लाग्थ्यो। उमेरसँगै पढियो, अब राजनीतिक जीवनको सुरूवात गरेको छु,’ उनले भने।राजनीतिमा रूची भएकाले उनले संगठन निर्माण र बलियो बनाउनुपर्छ भन्ने थाहा पाएका थिए। पढ्नका लागि चीन गएका बेला पनि उनले संगठन बनाउनेबारे सोचे। त्यहाँ नेविसंघ-चीन सम्पर्क समिति बनाउन भूमिका खेले।

उक्त समितिले ‘कनेक्ट हिमालय’ भनेर पुस्तक प्रकाशन गरेको थियो। ‘चीनका प्रशासक नेताहरूका आर्टिकल पनि समावेश गरिएको त्यो पुस्तकले विद्यार्थीका तर्फबाट नेपाल-चीन सम्बन्धबारे  आममानिसलाई जानकारी गराउने लक्ष्य राखेको थियो। इतिहासका कुरा, अहिलेको अवस्थासँगै सगरमाथाका कुराबारे बाहिर ल्याउन त्यो पुस्तक प्रकाशन गरिएको थियो,’ उनले भने।

यसरी राजनीतिक काम पनि गर्दै उनले आफ्नो पढाइ र काम अघि बढाए। 'युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस र त्रिभुवन युनिभर्सिटीको सहकार्यमा रिसर्च सेन्टरमा सहभागी भएर अनुसान्धानमूलक काम गरियो। अहिले पनि काम गरिरहेको छु,’ उनले भने। उनले यस बीचमा ६ वटा रिसर्च पेपर प्रकाशित गरेका छन्। सेन्टर फर डेमोक्रसी स्थापना गरेर उनीसहितका समूहले अभियान चलाएको छ। त्यसले प्रजातन्त्रसम्बन्धी अनुसन्धान गर्ने काम गर्छ।

उनी २०७६ सालमा युरोपमा वैज्ञानिक सम्मेलनमा जान भिसा आएर पहिले आमाबुबालाई भेटेर जाने भन्दै घर आएका थिए। त्यस वर्ष चैतमा कोरोना भाइरसको महामारी फैलिएर लकडाउन भयो। उनी घरमै बसे। ‘लकडाउनमा यहाँ थुप्रै युवा भारत गएका, आएका देखें,  मेरो घरमा पनि दीर्घरोगी छन्, औषधी नपाएर समस्या भयो। हामीले नि:शुल्क औषधी दिने अभियान चलायौं,’ उनले भने। यसबेला उनी आफैंले धनगढी र त्यहाँ पनि नपाए भारतबाट औषधी ल्याएर घर-घरमा पुर्‍याउन युवाको एक समूह नै बनाएका थिए।

त्यो समूहले महिलाका पोषण, स्यानिटरी प्याड लगायतका अत्यावश्यक सामग्री वितरणका काम पनि गरेको उनले बताए।दोस्रो चरणको कोरोना महामारीका बेला अक्सिजन र भेन्टिलेटर अभाव थियो। त्यसबेला जोगबुढामा उनीहरूले नि:शुल्क दश बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाएका थिए। ‘अस्पतालनजिकै घर भाडामा लिएर डाक्टरहरूलाई बोलाएर त्यो चलाएका थियौं,’ उनले भने। उनी आफैंले त्यहाँका ६ जना विद्यार्थीलाई नि:शुल्क पढाउँदैछन्।

यस पटक डडेल्धुरामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणका विषयमा विवाद भयो। उनले भने केही ६ वर्षअघि नै सदस्यता लिएका थिए। त्यसबेला यस्तो विवाद भएको थिएन। ‘नगरदेखि नै राजनीति गर्ने मेरो योजना त पहिलेदेखि नै हो। अहिले बल्ल सभापतिमा उम्मेद्वारी दिएँ,’ उनले भने।  उनीसँग प्रतिस्पर्धामा ७ जना थिए। जसमा बाँकी ६ जना उनीभन्दा निकै पाको उमेरका थिए। नगर सभापति हुन उनले सुरूमा त वडामा चुनाव जित्नुपर्ने थियो। त्यहाँ खुलामा लडेर जितेपछि उनी क्षेत्रीय प्रतिनिधि भए। पछि नगर सभापतिको उम्मेद्वार भए।

‘मेरा एजेन्डा थिए। हरेक वडामा पुगेर म यो काम गर्छु भनें। पछिल्लो डेढ वर्षमै समाजिक क्षेत्रमा गरेका काम देखेर मलाई सहयोग गरे र चुनाव जितें,’ उनले भने, 'मैले पर्चा-पम्पलेट पनि बाँडिनँ। आफ्ना मुद्दाबारे धेरैलाई भेटेरै जानकारी गराएको थिएँ।’ उनले उठाएका मुद्दामा ६० वर्षभन्दा माथिका क्रियाशील सदस्यलाई स्वास्थ्य बीमा पार्टीले गर्ने, जोगबुढामा पार्टी कार्यालय बनाउने, शहिद परिवार, द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई नि:शुल्क पढाउने, युवालाई सीपमूलक तालिम दिने, बिपी लाइब्रेरी स्थापना गर्नेलगायतका मुख्य हुन्।

एकै पार्टीभित्रको चुनाव लड्दा एक-अर्कालाई मन नदु:खाएर  जित्नु पर्दो रहेछ भन्ने उनले बुझे। राजनीतिमा यति सानातिना कुरा भइरहन्छन् भन्ने उनलाई लाग्न थालेको छ। युवाहरूले भरतलाई पूर्ण रूपमा साथ दिए भने अघिल्लो पुस्ताले पनि विश्वास गरे। ‘पहिले नै देखिसकेकालाई नदिएर अब नयाँले केही गर्छ कि भनेर मलाई पुरानाले पनि मत दिए,' उनले भने।

अब जिम्मेवारी राम्रोसँग निभाएर पार्टीलाई आगामी चुनावमा कसरी जिताउने, सदस्यता विवाद अन्त्य गर्ने, सामाजिक रूपान्तरण लगायतका काम गर्ने उनको योजना छ। ‘जितपछि उत्साह थप भएको छ। जिम्मेवारी बोध भएको छ। मत दिनेहरूको विश्वास बचाउने काम गर्नेछु। कामले देखाउने हो,’ उनले भने।

साइन्स पढेर छोराले अरू नै राम्रो काम गर्ला भन्ने परिवारलाई लागेको छ। तर उनले सामाजिक मान्याता ठूलो हो भनेर बुझाउन सकेका छन्। त्यसैले राजनीति गर्न उनलाई सजिलो भएको छ। राजनीतिको पुरानो ढर्रा उनलाई मन परेको भने छैन। आफ्नै पुस्ताले पनि राजनीतिलाई मन नपराउनुको कारण त्यही हो। किनभने राजनीतिले उनीहरूलाई केन्द्रमा राखेर काम गरेको छैन। उनी यो बदल्न चाहन्छन्।

‘अहिलेका युवाहरू राजनीतिप्रति वितृष्णा भयो, राजनीतिमा त को लाग्छ भन्ने गरेको पनि सुनिन्छ। म प्रस्ट के भन्छु भने अहिलेसम्म अरू परिवर्तन भए, अब हामीले  राजनीतिलाई नै परिवर्तन गर्ने हो,’ उनले भने। राजनीतिलाई फोहोरी खेल भन्नेहरूप्रति इंगित गर्दै उनले  प्रश्न गरे, 'पोखरी फोहोर भयो भनेरमात्रै हुन्छ कि सफा गर्न त्यसमा पस्ने?'

‘राजनीतिलाई सफा गर्न युवाहरू आउनुपर्छ,’ उनले थपे। राजनीतिमा लागेका कतिपय नेताहरू, मन्त्री भएका नै अरू पेशातिर पलायन पनि भइरहेका बेला उनी भने संकल्पका साथ राजनितिमा होमिने अठोट गरिरहेका छन्। ‘कांग्रेसमा जनताले पत्याए अघि बढिएला। पहिला काम गर्दै जाउँ,’ उनले भने।

परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद पनि भरतले नयाँ पुस्ताको राजनीति सम्हाल्नेमा आफू ढुक्क रहेको बताए। 'उनी यूवा छन्। काम पनि गर्छन्। कार्यकर्ताले उनको काम हेरेरै मत दिएर सभापति बनाएका हुन्। उनी नयाँ पुस्ताको राजनीति सम्हाल्न सक्छन्,' उनले भने।