बैतडीमा घर परिवार सूचीकरण कार्य ९० प्रतिशत सम्पन्न
2021/10/01, 10:07
 
ss

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत घर तथा घर परिवार सूचीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।  घर तथा घर परिवार सूचीकरणका लागि यहाँका गाउँगाउँमा सुपरिवेक्षक खटाइएकोमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। 

सूचीकरणका लागि गत भदौ ३० देखि ८० जना सुपरिवेक्षक गाउँगाउँमा परिचालन गरिएका हुन्। उनले भने, “सुपरिवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ, हालसम्म ३५ हजार परिवार सङ्ख्या  दर्ता भइसकेको छ।” असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर र जनगणना परिवार सङ्ख्या गणना गर्ने काम भइरहेको प्रमुख पन्तले बताए। उनले भने, “पहिलो चरणमा मुख्य गरी घर तथा परिवारको गणनाको काम भइरहेको छ।” 

यसका साथै घरको विवरण, घरमूलीको नाम, घर कुन प्रयोजनामा रहेको छ, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सुपरिवेक्षकले सोध्ने गरेका छन् । गाउँगाउँमा परिचालन गरिएका सुपरिवेक्षकलाई सङ्कलन गरेको तथ्याङ्क भर्नेमा भने समस्या भइरहेको पन्तले बताउनुभयो । भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको छ। उनले भने, “सुपरिवेक्षकले मोबाइल एपको सहायताले कार्यस्थलबाटै दैनिक विवरण भर्ने गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या हुँदै आएको छ।”